अष्ट्रेलियाकी चर्चित गीतकार तथा संगीतकार जोय म्याक्किनको निधन
जेठ १२, मेलबर्न, अष्ट्रेलिया। धेरै अवार्ड विजेता अष्ट्रेलियाली गीतकार तथा संगीतकार जोय म्याककिन ओएमको ९३ वर्षको उमेरमा निधन भएको छ।
लामो समयसम्म क्यान्सरसँग लडिरहेकी म्याककिनको बिहीबार राती निधन भएको इएमआई रेकर्डेड म्युजिकले एक विज्ञप्ती जारी गरेर जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “उनको अष्ट्रेलियाली संगीतमा अग्रगामी व्यक्तिको रूपमा सम्झिना रहिरहनेछ।”
म्याककीनले आफ्ना पति स्लिम डस्टीका धेरै प्रसिद्ध गीतहरू लेखेकी थिइन्। उनले ‘लाइट्स अन द हिल’ गीतको लागि ट्यामवर्थ कन्ट्री म्युजिक फेस्टिभलमा पहिलो गोल्डेन गिटार पुरस्कार समेत जितेकी थिइन्।
स्लिमसँगको साझेदारीमा उनले १०० भन्दा बढी एल्मबहरू निर्माण गरेकी थिइन्। करीब ८० लाख प्रति एल्मबहरू बेचेर उनले ४५ गोल्डेन गिटार सङ्कलन गरेकी थिइन्।
उनलाई पहिले पल केलीले “हाम्रो महान गीतकारहरू मध्ये एक” भनेर वर्णन गरिसकेका छन्। त्यस्तै ट्रोय कासर-डेलीले उनलाई “राष्ट्रिय सम्पत्ति” भनेका छन्।
म्याकेनका एनी किर्कप्याट्रिक र डेभिड किर्कप्याट्रिक गरी २ छोराछोरी रहेका छन्।