अष्ट्रेलियामा गोहीको बङ्गराबाट टाउको निकालेर एक जनाले बचाए आफ्नो ज्यान
जेठ १८, मेलबर्न, अष्ट्रेलिया । क्वीन्सल्याण्डको एउटा फेन्सी रिसोर्टमा स्नोर्कलिंग गर्ने क्रममा एक जना अष्ट्रेलियन नागरिक गोहीको आक्रमणबाट बच्न सफल भएका छन्।
५१ वर्षीय मार्कस म्याकगोवानले उनी कसरी आफ्नो टाउकोबाट हिंस्रक गोहीको टाउको हटाउन सफल भए भन्ने खुलासा समेत गरेका छन्। मृत्युको मुखबाट उम्किएका उनलाई नजिकैको अस्पतालमा हेलिकप्टरबाट लगेर उपचार गरिएको छ।
अष्ट्रेलियामा गोहीको आक्रमण असामान्य छन्, तर हालैका महिनाहरूमा गोहीको आक्रमण बढिरहेको छ।
म्याकगोवान केप योर्क नजिकैको ह्यागरस्टोन टापुबाट २८ किलोमिटर (१७.३ माईल) टाढा मानिसहरूको समूहसँग पौडी खेलिरहेका समयमा उनलाई पछाडिबाट गोहीले आक्रमण गरेको थियो।
“मलाई यो शार्क हो भन्ने लागेको थियो तर जब म माथि पुगेँ, मैले यो गोही हो भनेर बुझें। मैले मेरो टाउको बाहिर निकाल्नको लागि यसको बङ्गारा खोल्न सक्षम भएँ,” उनले भनेका छन्।
एउटा जवान गोहीले फर्केर फेरि आक्रमण गर्ने प्रयास गरेको थियो। तर, उनी धक्का दिएर उक्त आक्रमणबाट बच्न सफल भए।
खुला समुन्द्रमा गोहीहरू फेला पार्नु चुनौतीपूर्ण छ किनभने तिनीहरूले हरेक दिन लामो दूरी कभर गर्न सक्छन्। तर, क्वीन्सल्याण्डको वातावरण विभागले यस घटनाको अनुसन्धान गर्ने बताएको छ।
ह्यागरस्टोन आइल्याण्ड रिसोर्टले आफूलाई परिवारको स्वामित्वमा रहेको विशेष लक्जरी रिसोर्टको रूपमा वर्णन गर्ने गरेको छ।
अष्ट्रेलियामा पछिल्लो समय गोहीको आक्रमण बढिरहेको छ। गत फेब्रुअरीमा रेन्जरहरूले मानिसलाई आक्रमण गर्ने र एक कुकुरलाई खाने ठूलो गोही मारेका थिए।
यस महिनाको सुरुमा, केभिन डार्मोडी नामका ६५ वर्षीय माछा मार्ने केनेडी नदीमा ४.१ मिटर गोहीको शरीर भित्र फेला परेका थिए। यो घटना क्वीन्सल्याण्डमा १९८५ मा रेकर्ड राख्न सुरु गरेदेखिको १३औं घातक गोहीको आक्रमणको रूपमा वर्णन गरिएको छ।
क्वीन्सल्याण्डमा गोहीहरूले सुरक्षामा चुनाैती दिएको अवस्थामा उनीहरूलाई मानिसको चहलपहल हुने क्षेत्रबाट हटाइन्छ। कतिपय अवस्थामा मारिने पनि गरिएको छ।
अष्ट्रेलियामा सन् १९७४ मा गोहीको शिकारमा प्रतिबन्ध लगाइएको थियो। त्यसयता राज्यमा गोहीको संख्या करिब ५,००० बाट बढेर ३०,००० पुगेको सरकारी तथ्याङ्क छ।