२४ लाखको खाना नास्ता प्रकरण : गल्ती लुकाउन झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब


जेठ २१, सुर्खेत । १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरु सोही खर्च लुकाउन पुनः अर्काे फण्डा गरेका छन् । प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत गंगबहादुर रोकायले मंगलबार विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना नास्ताको खर्च २४ लाख मात्र भएको दाबी गरेका छन् ।

रोकाय र लेखापाल खिमबहादुर शर्माले संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना, नास्तामा कुल २४ लाख ४१ हजार १०५ रुपैयाँँ मात्रै खर्च भएको दाबी गरेका छन् । जसमध्ये चालु आर्थिक वर्ष २०७९/८० मा १४ लाख ३४ हजार ७१ रुपैयाँ र गत आर्थिक वर्षको १० लाख ७ हजार ३४ रुपैयाँ भुक्तानी भएको विज्ञप्तिमा उल्लेख छ ।

केही दिनअघि मात्रै रोकायले जनप्रतिनिधिको खाजा नास्तामा कुल ५३ लाख ६० खर्च भएको दाबी गरेका थिए । खर्च रकममध्ये चालु आर्थिक वर्षमा खाना, चिया नास्तामा कर बाहेक कुल ३९ लाख १ हजार ६७८ रुपैयाँँ भुक्तानी दिइसकेका छन् । त्यस्तै भुक्तानीका लागि ९ लाखको तोक आदेश लगाएको कागजात भेटिएको छ ।

कर्मचारीले खाना, नास्ताको अस्वाभाविक खर्च देखाएपछि त्यहाँ छानबिन समिति नै बनेको थियो । छानबिन समितिले मंगलबारदेखि काम नै थालिसकेको छ । समितिको कारबाहीबाट बच्न उनीहरुले अर्काे विवरण सार्वजनिक गरेका हुन् । कर्मचारीले कारबाहीबाट बच्न चलाखी अपनाएर झुटो विवरण सार्वजनिक गरेको छानबिन समितिका संयोजक प्रेम केसीले बताए । कागजपत्र सबै समितिले नियन्त्रण लिएकोले हचुवाको भरमा नगरपालिकाको बेइज्जती गरेको केसीको भनाइ छ ।

तोक लागेको ३ लाखको फाइल पनि गायब
नगरपालिकाको लेखा शाखाबाट ३ लाख भुक्तानीको फाइल नै गायव भएको छ । कार्यालयमा कार्यपालिका र नगरसभाको खाना खाजा वापतको रकम भुक्तानीका लागि पेस भएको फाइल नै गायब भएको वडा अध्यक्षहरुले बताएका छन् । उनीहरुले कार्यालय प्रमुखले भुक्तानी दिनु भनेर तोकआदेश लगाएको फाईल लेखा शाखाबाट गाएब बनाएको बताएका छन् । नगरपालिका कर्मचारी र होटल व्यवसायीको मिलोमतोमा पेश भएको बिल प्रशासकीय अधिकृत रोकायले लुकाएको एक वडा अध्यक्षले बताए । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानमिन समितिका संयोजक खत्रीले बताए ।

लेखापाल अनविज्ञ
नगरपालिकाबाट मंगलबार सार्वजनिक गरिएको विवरणका विषयमा भने लेखापाल खिम शर्माले यो विषयमा आफू अनविज्ञ रहेको बताएका छन् । खर्च विवरण सार्वजनिक जानकारी नभएको उनले दाबी गरे । लेखामा भौचर उठेपछि भुक्तानी भएको स्वीकार गर्दै शर्माले यो विषयमा थप अध्ययन गर्न बाँकी रहेको बताए ।

समितिले सम्पूर्ण कागजात नियन्त्रणमा लिएकोले आफूलाई सबै कुरा जानकारी नभएको उनको दाबी छ । ‘सबै कुरा मेरो दिमागमा हुँदैन, सफ्टवेरबाट फेरि रुजु छु’ उनले भने, ‘बरु तपाइँसँग भएका कागजात मलाई पनि पठाइ दिनुहोला ।’ छानबिन र सम्बन्धित निकायमा उजुरी परेकोले ढिलो चाडो सत्य तथ्य बाहिर आउने उनको तर्क छ ।

कुन मितिमा कति रकम भुक्तानी भयो ?
नगरपालिकामा चालु आर्थिक वर्षमा झण्डै ४२ लाख रकम भुक्तानी भएको छ । जसमध्ये गत २४ माघको अर्धवार्षिक समीक्षा बैठक, गत २९ मंसिर, गत २० पुस र गत २३ माघको कार्यपालिकाको बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ १ लाख ८३ हजार ३३० रुपैयाँ गत २६ माघको भौचर नम्बर ४३० बाट दिपा होटललाई भुक्तानी भएको कार्यालयको दाबी छ । तर कार्यालयको सो मितिको भौचर नं ४३० नम्बरमा १ लाख ८० हजार ५८० रुपैयाँ खर्च भएको देखिन्छ ।

यस्तै ९ असार २०७९ र ९ भदौ २०७९ को नगरकार्यपालिकाको बैठक, २ कात्तिक २०७९ को विपद व्यवस्थापन समितिको बैठक, ८ असार २०७९ का २ वटा विषयगत समितिको बैठक र ८ भदौ २०७९ को वार्षिक समीक्षा गोष्ठीमा भएको खर्चवापतको रकम रुपैयाँ ५ लाख ५७ हजार २९ मंसिर २०७९ का दिन भौचर नम्बर २२८ बाट न्यौपाने होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ । तर, कार्यालयले होटल सञ्चालक चन्द्रलाल जैसीलाई ५ लाख ४८ हजार ६४५ रुपैयाँ भुक्तानी दिएको भौचर नं २२८ मा उल्लेख छ । ९ भदौ २०७९, १० भदौ २०७९, २६ भदौ २०७९ र २७ भदौ २०७९ को नगरकार्यपालिकाको बैठक, र ८ भदौ २०७९ को अर्धवार्षिक समीक्षा बैठकमा भएको खर्च वापतको रकम रुपैयाँ ३ हजार ३३ हजार ७१० रुपैयाँ १ पुस २०७९ का दिन भौचर नम्बर २४५ बाट दिपा होटललाई भुक्तानी भएको कार्यालयले जनाएको छ । तर, नगरपालिकाले सार्वजनिक गरेको उक्त मितिमा ३ लाख २८ हजार ७०४ रुपैयाँ भौचर नम्बर २४५ बाट भुक्तानी गएको छ ।

१३ फागुन २०७९ को कार्यपालिकाको बैठक, २६ माघ २०७९को सार्वजनिक सुनुवाई कार्यक्रम, १९ पुस २०७९ को भू–उपयोग परिषदको बैठक, २३ साउन २०७९, १५ माघ २०७९, २९ माघ २०७९ र १५ फागुन २०७९ को कर्मचारी बैठकमा भएको खर्चवापतको रकम१ लाख ३२ हजार १९ फागुन २०७९ का दिन भौचर नम्बर ५२९ बाट दिपा होटललाई भुक्तानी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, भुक्तानी गोसरा भौचरमा ५२९ मार्फत १ लाख ३२ हजार ३८४ रुपैयाँ कर काटेर भुक्तानी भएको छ । यस्तै न्यौपाने होटललाई सोही दिन १ लाख ४६ हजार ८४६ रुपैयाँ भौचर नम्बर ५२९ बाट १९ फागुन २०७९ दिन न्यौपाने होटललाई भुक्तानी भएको उल्लेख छ । जसको गोश्वारा भौचरमा १ लाख ४७ हजार २४६ रुपैयाँ खर्च भुक्तानी भएको पाइएको छ।

कार्यालयले २ कात्तिक २०७९को विपद व्यवस्थापन समितिको बैठकमा भएको खर्चवापतको रकम रुपैयाँ ३० हजार १९ मंसिरका दिन भौचर नम्बर १७३ बाट दिपा होटललाई भुक्तानी भएको उल्लेख गरेको छ । तर, सो मितिमा गोश्वारा भौचर १७३ बाट २९ हजार ५०० रकम बुझेको उल्लेख छ । विभिन्न मितिमा गरिएका कर्मचारी पदपुर्ती गर्दाको बखत खाजा खाना खर्चवापतको रकम ५१ हजार १८५ रुपैयाँ ३० चैत २०७९ को भौचर नम्बर ७३६ बाट दिपा होटललाई भुक्तानी भएको छ । यस्तै नगरपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा भुक्तानी समेत गरेको दाबी गरेको छ ।

नगरपालकले गत वर्षको भुक्तानी भनेर दिएको रकम २८ माघ २०७८ को नगरकार्यपालिकाको बैठक २९ भदौ २०७८ को नगर शिक्षा समितिको बैठक, २ मंसिर २ को पुरानो जनप्रतिनिधिलाई विदाई तथा नयाँ जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम १६ जेठ २०७९ को कार्यपालिकाको बैठक, २१ जेठ २०७९ को मनाघाट प्रहरी चौकी उद्घाटन कार्यक्रम ५ भदौ २०७८ को आ व २०७७/७८ को वार्षिक समीक्षा बैठकमा भएको खर्चवापतको रकम ७ लाख ५५ हजार २५८ रुपैयाँ २४ असार २०७९ का दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी भएको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । तर, कार्यालयको लेखा शाखाको अभिलेख अनुसार २४ असार २०७९ को २०३ नम्बरको भौचरमा नभई ३१९ नम्बरको भौचरमा रकम भुक्तानी भएको छ । सो भौचरमा ७ लाख ५५ हजार २५८ रुपैयाँ होटल सञ्चालक चन्द्रलाल जैसीले बुझेका छन् ।

यस्तै गत आवको ९ असार २०७९को बाह्रौं नगरसभामा भएको खर्चवापतको रकम रुपैयाँ १ लाख ७९ हजार ८३ रुपैयाँ १८ असार २०७९ का दिन भौचर नम्बर २०३ बाट न्यौपाने होटललाई भुक्तानी गएको छ । तर, सो मितिमा उक्त भौचर कार्यालयले उठाएको छैन । सो मितिको भौचर नं २७१ बाट १ लाख ७९ हजार ७३ रुपैयाँ भुक्तानी भएको छ । सोही मितिमा ७२ हजार ६९३ रुपैयाँ १८ असार २०७९ का दिन भौचर नम्बर २०३ बाट दिपा होटललाई भुक्तानी भएको (जम्मा २ लाख ५१ हजार ७७६ रुपैयाँ ) उल्लेख छ । तर कार्यालयले भौचर नं २०३ मार्फत नभई २७१ नम्बरको भौचर मार्फत सो होटललाई रकम भुक्तानी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा भएको खर्च भन्दै कार्यालयले समेत गलत तथ्याक सार्वजनिक गरेको छानविन समितिका संयोजक केसीले बताए । यस्तै कार्यालयले भुक्तानी दिन बाँकी रहेको १२ लाख बाँहेक १४ लाख ६० हजार ५७३ रुपैयाँ कर बाहेकको रकम गुपचुप गरेको छेडागाड नगरपालिका १ का कृष्ण जैसीले बताए । कार्यालयले ४ पुस २०७९ मा १ लाख ५२ हजार २८१ रुपैयाँ गोश्वारा भौचर २७० मार्फत भुक्तानी भएको छ । तर, उक्त रकम नगरपालिकाले उल्लेख गरेको छैन् । सो रकम मात्र नभएर नगरपालिकाले १३ असोज २०७९ मा रामबहादुर थापाको नाममा काटेको २५ हजार भौचर नं १०० को, २५ वैशाख २०८० मा थापाको नाममा काटेको २ लाख ९५ हजार ५ सय भौचर नम्बर ७७९ को उल्लेख गरेको छैन् ।

यस्तै ४ पुस २०७९ मा थापाकै नाममा ६९ हजार ७०० भौचर नम्बर २६८ रकम समेत समावेस नगरेको जनप्रतिनिधिहरुको आरोप छ । यस्तै नगरपालिकाले ३० चैत २०७९ मा गोश्वारा भौचर नं ७३५ मार्फत् ५१ हजार १८५ र १८ असार २०७९ मा गोश्वारा भौचर नं ६४९ मार्फत भुक्तानी भएको ६२ हजार रकम उल्लेख नै नगरेको पाइएको छ । यस्तै ३० चैत २०७९ गोश्वारा भौचर ७३६ मार्फत भुक्तानी भएको ५१ हजार १८५ रुपैयाँ उल्लेख छैन । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रोकायले ९ चैत २०७९ मा आफैँ निवेदन लेखी भुक्तानी लिएको ४ लाख ५९ हजार ९७५ र ३० चैत २०७९ मा ४ लाख ५० हजार ७७० रुपैयाँ समेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख नै नगराएको छानबिन समितिको आरोप छ।

मेयरद्वारा छानबिन समितिलाई दबाब
छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले छानबिन समितिका संयोजकलाई दबाब दिएको खुलेको छ । कागजपत्रहरु कसरी मिडिया गयो भन्दै उनले छानबिन समितिका संयोजक प्रेम केसीलाई दबाब दिएका हुन् । अहिले खास भित्रको कुरा केही पनि नबोल्न दबाब दिइएको छानमिन समितिले बताएको छ । छानबिन समितिको प्रतिवेदन बाहिर नआउँदै कर्मचारीले विज्ञप्ति निकालेर अर्को विवाद सृजना गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?