न्यु साउथ वेल्सको समुद्री किनारमा मृत फेला परेको १५ टनको ह्वेल हटाउन सुरू
जेठ २२, मेलबर्न, अष्ट्रेलिया । अधिकारीहरूले न्यु साउथ वेल्सको मध्य उत्तरी तटको एक लोकप्रिय समुद्र तटमा मृत फेला परेको १५ टन वजन भएको हम्पब्याक ह्वेल हटाउन काम सुरू गरेका छन्।
१० मिटर लामो किशोर ह्वेल सोमबार क्याथी ताल नजिकैको लाइटहाउस बीचमा एक बासिन्दाले फेला पारेका थिए। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु सेवाले अवशेषहरू हटाउन पोर्ट म्याक्वेरी-हेस्टिङ्स काउन्सिलसँग काम गरिरहेका छन्।
न्यु साउथ वेल्स राष्ट्रिय निकुञ्ज र वन्यजन्तु रेन्जर भिक्टोरिया हिकिनले ह्वेलको मृत्युको कारण कहिल्यै थाहा नहुन सक्ने पनि बताएका छन्।
“हामीलाई ह्वेल कसरी मर्यो थाहा छैन। कहिलेकाहीँ वस्तुहरूको अन्त्य प्राकृतिक रूपमै हुने गर्दछ।” उनले भनेका छन्।
पोर्ट म्याक्वेरी-हेस्टिङ्स काउन्सिलका कार्यवाहक प्राकृतिक प्रबन्धक बेन ह्वाइटले पोर्ट म्याक्वेरी नजिकैको ल्यान्डफिल साइटमा ह्वेलको शव नष्ट गर्ने बताएका छन्।
उनले केही दिनमा नै काउन्सिलले उक्त ह्वेलको अवशेष हटाउन सक्ने अपेक्षा व्यक्त गरेका छन्। उनले ह्वलेको शव हटाउँदा अत्यन्तै सावधानी अपनाउनु पर्ने पनि बताएका छन्।
उनीहरूले उक्त ह्वेल सिंगै हटाउने प्रयास गरिने बताएका छन्। उनले पोस्टमार्टम पनि नगरिने सम्भावना भएको उल्लेख गरेका छन्।
यो वर्ष सिड्नी र क्वीन्सल्याण्ड सीमाना बीचको पूर्वी तटमा हम्पब्याक शव फेला परेको यो पहिलो घटना भएको विश्वास गरिएको छ।