अष्ट्रेलियामा फेरी बढ्यो ब्याजदर


जेठ २३, मेलबर्न, अष्ट्रेलिया । रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबिए)ले एक वर्षको अवधिमा १२ औं पटक ब्याजदर बढाएको छ। बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउनु परेको आरबिएले बताएको छ।

केन्द्रीय बैंकले ब्याजदर २५ आधार बिन्दुले बढाएर ४.१० प्रतिशतमा पुर्याएको छ। आरबिएको यो निर्णयसँगै जुन महिनामा ब्याजदर नबढ्ने अपेक्षा गरेर बसेका वित्तीय बजार तथा केही अर्थविद्हरू चकित भएका छन्।

अष्ट्रेलियामा पछिल्लो ब्याजदर वृद्धिले औसत घर मालिकको लागि धितो भुक्तानीमा वृद्धि भएको छ। २०२२ को अप्रिलमा ब्याजदर ०.१० प्रतिशत हुँदा ऋण लिनेहरूले औसतमा १२६४ डलर बढी कर्जा भुक्तानी गर्नुपर्ने भएको छ।

पछिल्लो ब्याजदर वृद्धिसँगै अष्ट्रेलियाको ब्याजदर २०१२ को समान भएको छ। त्यतिबेला पनि ब्याजदर बढ्दै ४.१० प्रतिशत पुगेको थियो।

मौद्रिक विज्ञप्तीमा आरबीए गभर्नर फिलिप लोले आजको वृद्धि मुद्रास्फीति नियन्त्रण गर्न आवश्यक कदम भएको दाबी गरेका छन्।

“अष्ट्रेलियामा मुद्रास्फीतिले चरम सीमा पार गरिसकेको छ। अहिलेको ७ प्रतिशत अझै धेरै उच्च छ र लक्षित दायरामा फर्किन अझै केही समय लाग्नेछ,” लोले भनेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?