पश्चिमी अष्ट्रेलियामा आगलागीमा परी घाइते भएका तीन बालकमध्ये एकको मृत्यु


जेठ २३, मेलबर्न, अष्ट्रेलिया । पश्चिमी अष्ट्रेलियाको मध्यपश्चिमी तटमा रहेको एउटा घरमा भएको आगलागीमा परी घाइते भएका एक बालकको मृत्यु भएको छ।

गत बिहीबार माउन्ट तारकोलाको गेराल्डटन उपनगरमा रहेको एउटा घरमा लागेको आगलागीमा १३ वर्षीय बालकसहित १२ र १४ वर्षका अन्य दुई बालकहरू पनि जलेर घाइते भएका थिए।

घाइते तीन बालकलाई पर्थ बाल अस्पताल लगिएको थियो। उनीहरूमध्ये शुक्रबारसम्म १३ वर्षीय बालकको अवस्था गम्भीर हुँदा अरू २ बालक सामान्य रहेको रिपोर्ट गरिएको थियो।

त्यस्तै , नजिकैको घरमा भेटिएका अर्का बालकलाई सामान्य चोटको उपचार गरेर अस्पतालबाट डिस्चार्ज गरिएको छ।

तर, शरीरको ९० प्रतिशत भाग गहिरो जलेका १३ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको वेस्टर्न अष्ट्रेलियाको प्रहरीले पुष्टि गरेको छ।

बिहीबार दिउँसो विष्फोट भएको खबर आएपछि आपतकालीन सेवाहरू गेराल्डटन स्थित एक घरमा पुगेका थिए। उनीहरूले घरका झ्यालहरू फुटेर धुँवाको मुस्लो निस्किरहेको घरबाट बालकहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?