क्विन्सल्याण्डको चर्चित आइल्याण्डको नाम परिवर्तन


जेठ २४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको क्विन्सल्याण्डमा अवस्थित फ्रेजर आइल्याण्डको नाम परिवर्तन भएको छ। परम्परागत नाम परिवर्तन गरेर अब के’गारी (K’gari) राखिएको छ।

क्वीन्सल्याण्डकी प्रिमियर अन्नास्तासिया पलास्जुकले आधिकारिक रूपमा बुचुल्ला आदिवासी निगमसँगको समारोहमा विश्वको सबैभन्दा ठूलो बालुवा टापुलाई यसको परम्परागत आदिवासी नाम परिवर्तन गरेकी छिन्। यो परिवर्तनले टापुको ऐतिहासिक महत्वलाई मान्यता दिने बताइएको छ।

करीब ६०, ००० वर्ष पहिलेदेखि यो आइल्याण्डलाई यसको परम्परागत नामले चिनिने गरिएको थियो।

परम्परागत मालिकरू, पर्यटन निकाय, सरकारी निकायहरू तथा फ्रेजर कोस्ट क्षेत्रीय काउन्सिलसँगको परामर्शपछि यो निर्णय गरिएको हो।

“के’गारी टापु बुचुल्ला मानिसहरूको सिर्जना कथाबाट आएको हो। जुन पुस्तादेखि मौखिक रूपमा हस्तान्तरण गरिएको छ,” उक्त समारोहमा पलास्ज्चुकले भनिन्। ‘आज हामी खुसीसाथ केगरीलाई घर फर्केर स्वागत गर्छौं र यसको परम्परागत नाम पुनर्स्थापित गर्छौं। जुन धेरै वर्षदेखि मौलिक संरक्षकहरूद्वारा पोषित छ।’

नाम घोषणासँगै सरकारीको स्वामित्वबाट बुचुल्ला आदिवासी निगमलाई १९ हेक्टरभन्दा बढी जग्गा हस्तान्तरण गरिएको छ।

जग्गा किन्न, बेच्न वा धितो राख्न नसकिने र यसको परम्परागत मालिकहरूको फाइदाको लागि प्रयोग गरिनु पर्ने बुचुल्ला आदिवासी निगमकी अध्यक्ष गेल मिनिकोनले भनेकी छन्।

के’गारी नाम हटाएर यसलाई आफ्नो घर ठानेका बुचुल्ला जनताको अपमान भएको उनले बताइन्। तर, के’गारी पुनर्स्थापित भएसँगै उनले गुमेको सम्मान फिर्ता पाएको बताइन्।

“हाम्रा पुर्खाहरूले अनादिकालदेखि नै केगरीको हेरचाहको महत्त्व बुझेका र प्रतिबद्ध थिए र आज हामी यो सांस्कृतिक दायित्वलाई निरन्तरता दिन्छौं।” उनले भनेकी छन्।

सृष्टिको कथा अनुसार टापुको तालहरू बनाइयो ताकि उसले स्वर्गतिर हेर्न सकोस्, झाडीहरू उनको लुगा लगाउनका लागि बनाइएको हो र जनावरहरूलाई उनको संगत राख्नको लागि राखिएको थियो।

बुचुल्लाका मानिसहरूलाई टापुको रक्षा गर्न स्पिरिट यिङदिङ्ङेद्वारा सिर्जना गरिएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?