अष्ट्रेलियाका मुख्य सहरमा चुलिँदै घरभाडा, सिड्नी सबैभन्दा महँगो घरभाडा भएको सहर
जेठ २६, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका मुख्य सहरहरूमा भाडाको मूल्य अहिलेसम्मकै उच्च वार्षिक वृद्धिमा पुगेको छ। आवास संकट बढ्दै जाँदा अष्ट्रेलियामा भाडादर पनि चुलिँदै गएको हो।
देशभरका धेरै उपनगरहरूमा भाडा मूल्यहरू धेरै बढेका छन्। उपनगरहरू मध्ये ४० प्रतिशत भन्दा बढीमा गत वर्षको तुलनामा १० प्रतिशत वा सोभन्दा बढी भाडा वृद्धि भएको छ।
मे महिनामा बजारमा ४,४०० भन्दा बढी नयाँ आवासहरू थपिएका थिए। तर पनि नयाँ भाडा सूचीहरूको संख्या अझै पनि विगत पाँच वर्षको औसत भन्दा ११ प्रतिशत कम छ। यो संख्या दीर्घकालीन औसत भन्दा ३३.३ प्रतिशत कम रहेको उल्लेख छ।
अधिकांश राजधानी सहरहरूमा खाली आवासको संख्या अत्यन्तै कम छ। अपवादमा होबार्ट (२.७) र क्यानबेरामा भने (२.२) प्रतिशत घरहरू खाली रहेको बताइएको छ।
घर र एकाइ(अपार्टमेन्ट)हरू बीचको भाडा मूल्यमा भिन्नता कम हुँदै गइरहेको छ। कोरलजिक (CoreLogic)को नयाँ डाटाअनुसार प्रमुख सहरमा भाडाको अन्तर प्रति हप्ता ६० डलर र राज्यव्यापी भने ३६ डलर मात्रै रहेको छ।
समग्रमा राजधानी सहरहरूमा घर भाडा मे महिनामा ०.९% बढेको छ भने अपार्टमेन्ट भाडा १.४% ले उकालो लागेको तथ्याङ्क छ।
सिड्नी अझै पनि भाडाका लागि सबैभन्दा महँगो सहरको रूपमा स्थापित भइरहेको छ। एक महिनामा नै सिड्नीमा भाडा मूल्य १.२ प्रतिशतले बढ्दा सहरभरीको औसत भाडा ७२३ डलर कायम हुन पुगेको छ।
अष्ट्रेलियापछि दोश्रो स्थानमा मुलुकको राजधानी क्यानबेरा महँगो भाडा भएको सहर भएको छ। तर, क्यानबेरामा भने पछिल्लो महिना भाडा मुल्य ०.४ प्रतिशतले घट्दै औसतमा ६७१ डलर कायम हुन पुगेको छ। त्यस्तै, ब्रिसबेनमा भने ०.६ प्रतिशतको वृद्धि हुँदै ६०९ डलर कायम भएको छ।
मेलबर्नको औसत भाडामा सबैभन्दा ठूलो उछाल देखिएको छ। मेलबर्नमा पछिल्लो महिना भाडामूल्य १.४ प्रतिशतले उकालो लाग्दै ५४३ डलर पुगेको छ। तर, अझै पनि पर्थको ५९४ र डार्बिनको ४९६ डलरभन्दा मेलबर्न सस्तो नै रहेको छ।
मुल्य बढ्दै जाँदा अष्ट्रेलियामा प्रतिहप्ता औसत भाडा ५८३ डलर कायम हुन पुगेको छ। गत महिना औसतमा ०.८ प्रतिशतले उकालो लागेको भाडा एक वर्षमा भने ९.९ प्रतिशतले बढेको छ।
सिड्नीका उपनगरहरू हायमार्केट, वोली क्रिक र जेटल्याण्डमा एकै वर्षमा भाडा मूल्य ३० प्रतिशतले वृद्धि भएको नयाँ तथ्याङ्कले देखाएको छ।
तर कोरलजिककी अर्थशास्त्री केट्लिन एजीले राष्ट्रिय भाडाको बृद्धि अप्रिल र मार्चमा देखिएका दरहरूको तुलनामा केही सुस्त भएको बताएकी छन्।
उनले वार्षिक भाडा वृद्धिको अवस्था केही महिनापछि १० प्रतिशतभन्दा कम भएको पनि बताएकी छन्। भाडा बजार सुस्त भएका कारण गत महिनामा भाडा ०.३% ले मात्र बढेको उनको दाबी छ।