मेलबर्न पठाउन लागिएको करीब अर्ब डलर बराबरको लागुऔषध क्यानडामा बरामद


असार १, मेलबर्न, अष्ट्रेलिया । मेलबर्न पठाउनका लागि क्यानोला तेलका बोतलहरूमा लुकाइएको झण्डै दुई अर्ब डलर बराबरको मेथाम्फेटामाइन क्यानडामा बरामद भएको छ।

प्रहरीले यो बरामद अष्ट्रेलिया भित्रिन लागेको लागुऔषध बरामदको सबैभन्दा ठूलो मध्येको एक भएको बताएको छ। यो अपरेशन एक विश्वव्यापी संगठित अपराध समूह द्वारा गरिएको थियो। जसले क्यानाडालाई उनीहरूको गैरकानूनी गतिविधिहरूको लागि सुरूवात बिन्दुको रूपमा प्रयोग गरेको पाइएको छ।

करीब १९ मिलियन हिट बराबरको सिपमेन्ट प्रहरीले बरामद नगरेको भए समुदायमा ठूलो नोक्सान पुग्ने प्रहरीले बताएको छ।

“हिजो, भिक्टोरिया पुलिस र अष्ट्रेलियाली संघीय पुलिस (एएफपी) द्वारा छ जनालाई अभियोग लगाइएको थियो,” भिक्टोरिया प्रहरी सहायक आयुक्त बब हिलले भनेका छन्। “डिसेम्बर २०२२ मा, क्यानाडाली अधिकारीहरूले मेलबर्न जाने प्याकेजमा अवैध लागूपदार्थ फेला पारेपछि संयुक्त अनुसन्धान सुरु गरेका थिए।” उनले थपेका छन्।

मेलबर्नका एक ३८ वर्षीय व्यक्तिलाई अपरेसनको नेतृत्व गरेको आरोप लगाइएको छ। उनीमाथि क्यानाडामा आपराधिक समूहहरूसँग सम्बन्ध रहेको समेत अभियोग प्रहरीले लगाएको छ।

एक ३२ वर्षीया व्यक्तिलाई लजिस्टिक व्यवसायमा आफ्नो पद प्रयोग गरी ढुवानी प्रयास गर्न र ढुवानी गरेको आरोप लगाइएको छ। त्यस्तै, १९ देखि ५१ वर्ष उमेर समूहका अन्य चारजना पुरुषलाई लागूऔषध किन्न खोजेको आरोप लगाइएको छ।

अभियोग लागेका छ जना नै मेलबर्नको अदालतमा सुनुवाइका लागि उपस्थित हुने बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?