ललिता निवास प्रकरण : ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
असार २२, काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न रहेको भन्दै तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।
१७ पूर्व सहसचिवसहितका कर्मचारी ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका छन् । एक प्रहरी अधिकारीका अनुसार उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिई सकिएको छ। जसमध्येका एक पूर्व सहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ। बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्न विरुद्ध मुलुकी ऐन २०२० र सङ्गठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गरिरहेको छ। पक्राउ पुर्जी जारीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात सुरक्षामा खटिएका अङ्गरक्षक नै फिर्ता गरेर सम्पर्कविहीन भएका थिए भने अरू आरोपितको पनि खोजबिन भइरहेको ती अधिकारीले जानकारी दिए ।