अष्ट्रेलियामा सवारी चालकहरूको कोकिन परीक्षण हुने, पोजेटिभ देखिए लाइसेन्स खारेज !
असार २६, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा सवारी चालकहरूको कोकिन परीक्षण हुने भएको छ। अबदेखि क्विन्सल्याण्डमा ट्राफिक प्रहरीले सवारी चलाइरहेका चालकहरूलाई सडक मै लागुऔषध परीक्षण गर्ने भएका हुन्।
अष्ट्रेलियामा बढीरहेको सवारी दुर्घटना न्युनीकरणका लागि सडकमै चालकहरूलाई लागुऔषध परीक्षण गर्ने मापदण्ड ल्याइएको जानकारी दिइएको छ।
प्रहरीले सडकमै एक उपकरणबाट लागुऔषध प्रयोग गरे नगरेको परीक्षण गर्नेछ। यसका लागि जम्मा १० मिनेट समय लाग्ने बताइएको छ ।
यातायात तथा मुख्य सडक मन्त्री मार्क बेलीले क्विन्सल्याण्डमा सडकहरूमा भइरहेका लागुऔषध समबन्धित दुर्घटना न्युनीकरणमा लागि कोकिन परीक्षण सुरू गरिएको बताएका छन्।
त्यस्तै, कायमुकायम सहायक पुलिस कमिसनर क्रिस स्ट्रीमले एक पटक परीक्षण गर्दा पोजेटिभ देखिए पुनः अर्को पटक पनि परीक्षण गरेर यकिन गरिने जानकारी दिएका छन्।
कोकिन प्रयोग गरेर सवारी चलाएको पाइएमा चालक अनुमतिपत्र खारेज हुने र २ हजार १ सय ६७ डलर जरिबाना समेत हुने भएको छ।
पछिल्लो समय क्विन्सल्याण्डमा मात्रै नभएर अष्ट्रेलिया मै सवारी दुर्घटना बढीरहेको छ। दुर्घटना न्युनीकरणका लागि सरकारले विभिन्न उपाय तथा नीतिहरू अवलम्बन गरिरहेको छ।