अंग्रेजी भाषा परीक्षामै जालझेलः अमेरिकाबाट डिपोर्ट हुने खतरामा १००० विद्यार्थी, तीन जना पक्राउ
असार २८, एजेन्सी । अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका १००० विद्यार्थीहरू डिपोर्ट हुने सम्भावना देखिएको छ। ती विद्यार्थीहरू खासगरी गुजरातका रहेको अहेमदावाद मिररले उल्लेख गरेको छ।
उनीहरूलाई शंकास्पद माध्यमहरू प्रयोग गरी भर्ना गरेको आशंकामा एफबीआईले अमेरिकाबाट निष्कासन गर्ने सम्भावना उच्च देखिएको हो।
मेहसाना प्रहरीले अमेरिकी विश्वविद्यालयहरूमा प्रवेश गर्नका लागि अनिवार्य टोफल, आइएलटिएस, पिटिइ र जिआरइका परीक्षाहरूमा हेरफेर गरेको आरोपमा तीन व्यक्तिलाई गिरफ्तार गरेको छ। उनीहरूले ४२ जनालाई गलत तरिकाबाट डेट बुक गरेको पत्ता लागेपछि साइबर सेलले पक्राउ गरेको हो।
एक साइबर अपराध स्रोतले एफबीआई प्रतिनिधिबाट अमेरिकाबाट निर्वासित हुन सक्ने १,००० भन्दा बढी विद्यार्थीहरूको सन्देश प्राप्त गरेको छ। सोही अनुसार एफबीआई उक्त शहरमा जाने तयारी गरिरहेको छ।
घोटालाको आरोपमा पक्राउ पर्नेमा आन्ध्र प्रदेशका महेश्वर चेर्ला (रेड्डी), चन्द्रशेखर कर्लापुडी र हाल बडोदरामा बस्ने सुरतको मोटा वराछाका सागर हिरानी रहेका छन्। प्रहरीले आरोपीको साथबाट पाँच थान ल्यापटप, तीन थान सिपियु र सात थान मोबाइल बरामद गरेको छ ।
यस ठगीमा पक्राउ परेका उच्च शैक्षिक स्तरका भएको प्रहरीले जानकारी दिएको छ। चेर्लाले हाल कम्प्यूटर साइन्समा स्नातक गरिरहेको पाइएको छ। त्यस्तै, इन्जिनियरिङ र आईटीमा स्नातक गरेका हिरानी अहिले भिसा सल्लाहकारको रूपमा काम गरिरहेका छन्। त्यसैगरी, करालपुडीले बीटेक डिग्री लिएका छन्।
उनीहरूले अमेरिकामा अध्ययन गर्न चाहने व्यक्तिहरूको भाषा परीक्षामा ठगी गर्नका लागि प्रत्येक व्यक्तिबाट ७० हजार भारू लिने गरेको साइबर क्राइम सेलका डीसीपी अजित राजियनले उल्लेख गरेका छन्।
प्रहरीले दिएको जानकारी अनुसार गत हप्ता सुरतका एक विद्यार्थीले जिआरइ परीक्षा केन्द्र खोज्दै गर्दा “भ्वाइस अफ इमिग्रेशन इन्डिया” भन्ने वेबसाइट फेला पारेका थिए। उनले त्यहाँ भएको नम्बरमा फोन गरेर यसबारे जानकारी लिँदा पास गर्नका लागि ७० हजार तिर्नुपर्ने बताइएको थियो।
ती विद्यार्थीले १९ रुपैयाँ एड्भान्स तिरेर परीक्षा विवरण सहित प्रवेश पत्र प्राप्त गरे। तर, पत्रमा उल्लेख गरिएको स्थान होटल भएकोले विद्यार्थीलाई शंका लागेको थियो। त्यसपछि विद्यार्थीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। जसले यो प्रकरण पर्दाफास गर्यो।
यसरी गर्थे परीक्षामा ठगी !
डीसीपी राजियनले बताए अनुसार हिरानीले प्रश्नहरूको तस्बिर खिचेर चन्द्रशेखर उर्फ राहुललाई पठाउने गर्थे। उनीमार्फत ती प्रश्नहरू महेश्वर रेड्डीसम्म पुग्थे। उनले उत्तर लेखेर हिरानीलाई फिर्ता पठाउँथे। हिरानीले विद्यार्थीको ल्यापटपमा ब्लुटुथ किप्याड जडान गर्ने र परीक्षकलाई झुक्याई सावधानीपूर्वक उत्तर लेख्ने गर्थे।
विद्यार्थीलाई उनीहरूले उत्तर लेखेको जस्तो नाटक गर्न निर्देशन समेत दिइएको थियो। विभिन्न होटलमा कोठा बुकिङ गरी टोफल, आइएलटिएस, पिटिइ र जिआरइका परीक्षामा हेरफेर गरेको आरोप लागेका व्यक्तिहरूले करिब एक वर्षसम्म यो र्याकेट सञ्चालन गरेको अनुमान प्रहरीको छ।
यस्तो थियो तीन जनाको रोल !
महेश्वरले विद्यार्थीबाट अनलाइन पेमेन्ट लिने र प्रति विद्यार्थी ४ हजार रुपैयाँ लिएर उत्तर लेख्ने काम गर्थे।
२० वर्षदेखि भल्डोरामा बसिरहेका सागर हिरानी “भ्वाइस इमिग्रेसन”मा भिसा कन्सल्ट्यान्टको रूपमा काम गर्छन्। उनले यसरी परीक्षामा ठगी गरेबापत प्रति विद्यार्थी १५ हजार लिने गरेको पाइएको छ। उनले अहिलेसम्म १५ विद्यार्थीलाई यसरी परीक्षामा सामेल गराएको पाइएको छ।
विभिन्न होटलमा परीक्षा केन्द्र स्थापना गर्ने जिम्मेवारी लिएका चन्द्रशेखर कर्लापुडीले चार सयभन्दा बढी विद्यार्थीलाई परीक्षामा सामेल गराएको पाइएको छ।