घरेलु मैदानमै हार्यो अष्ट्रेलिया, अन्तिम १६ मा पुग्ने अवस्था संकटमा


साउन ११, मेलबर्न, अष्ट्रेलिया । जारी महिला विश्वकपमा अष्ट्रेलिया घरेलु मैदानमै पराजित भएको छ। अफ्रिन मुलुक नाइजेरियासँग सुरूवाती अग्रता जोगाउन नसक्दा अष्ट्रेलियाले घरेलुमा हार व्यहोरेको हो।

समूह चरणको दोश्रो खेलमा पराजित भएसँगै अष्ट्रेलियाको अन्तिम १६ मा पुग्ने अवस्था संकटमा परेको छ।

सनकर्प स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले पहिलो हाफमा थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा एमिली भान एग्मण्डको गोलमार्फत अग्रता लिएको थियो। तर, पहिलो हाफको अतिरिक्त समयमा नै नाइजेरिया उचेना कानुको गोलमार्फत खेलमा फर्किएको थियो।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोश्रो हाफको ६५ औँ मिनेटमा ओसिनाचि ओहालेको गोलमार्फत नाइजेरियाले अग्रता बनायो। त्यसको ७ मिनेटपछि नाइजेरियाकै लागि आसिसात ओसोआलाले गोल गर्दा नाइजेरिया जिततर्फ अग्रसर भएको थियो।

इन्ज्युरी समयको दशाैँ मिनेटमा अष्ट्रेलियाका लागि अलाना केन्नेडीले गोल गरेपनि टोलीको हार टार्न सकिनन् र घरेलु टोली पराजित हुन पुग्यो।

यस हारसँगै अष्ट्रेलिया ३ अंकका साथ तालिकाको तेश्रो स्थानमा पुगेको छ। विश्वकपको पहिलो खेलमा अष्ट्रेलियाले आयरल्याण्डमाथि जित निकाल्दै ३ अंक बटुलेको थियो।

घरेलु टोलीमाथि जित निकालेसँगै नाइजेरिया अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। त्यस्तै, समान ४ अंकका साथ क्यानडा दोश्रो स्थानमा पुगेको छ।

अन्तिम १६ मा स्थान बनाउनका लागि अष्ट्रेलियाले सोमबार हुने क्यानडासँगको खेल जित्नै पर्ने दबाब सिर्जना भएको छ। त्यसैगरी, अष्ट्रेलियालाई बराबरीमा रोक्न सकेमात्रै पनि अन्तिम १६ मा पुग्नेछ।

त्यसैगरी, बिहीबार नै भएको अर्को खेलमा पोर्चुगलले भियतनाममाथि २-० को जित निकालेको छ। जारी विश्वकपमा पोर्चुगललाई पहिलो जित दिलाउन तेल्मा इन्कारनकाओ र फ्रेन्सिस्का नजाराथले एक-एक गोल गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?