भिक्टोरियामा जनवरी १ देखि बनाइने घरमा ग्यास जोड्न नपाइने
साउन १४, मेलबर्न, अष्ट्रेलिया। जनवरी १ पछि भिक्टोरियामा बनाइने नयाँ आवासीय घरहरूमा ग्यास लाइन जडान गर्न नपाइने भएको छ। राज्यमा ग्यासको प्रयोगलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रयास स्वरूप यो नियम लगाइएको भिक्टोरियाले घोषणा गरेको छ।
ऊर्जा र संसाधन मन्त्री लिली डी’अम्ब्रोसियोले २०२४ को शुरुवातबाट स्वीकृत आवासीय योजनालाई विद्युतीय उपकरण जडानको मात्रै अनुमति दिने बताएकी छन्। त्यस्तै, निर्माण घोषणा भएका तर डिजाइन चरणमा नपुगेका सबै नयाँ सार्वजनिक भवनहरूमा पनि विद्युतीय उपकरणको मात्रै अनुमति दिइनेछ।
लगभग ८० प्रतिशत भिक्टोरियन घरहरू हाल ग्यासमा जोडिएका छन्। सरकारको तथ्याङ्क अनुसार भिक्टोरिया राज्यमा सबैभन्दा धेरै ग्यासको प्रयोग भइरहेको छ।
डी’एम्ब्रोसियोले यो कदमले जीवनयापनको दबाब र जलवायु परिवर्तनसँग जुध्न मद्दत गर्ने पनि बताएकी छन्।
“भिक्टोरियनहरूको लागि जीवनयापनको लागत निरन्तर ठूलो हुँदै गइरहेको छ,” उनले भनिन्। “यसको दीर्घकालीन सम्बोधन अहिलेबाट नै गर्नुपर्नेछ ।”
डी’एम्ब्रोसियोले ग्यास प्रतिबन्धले घरधनीहरूलाई प्रत्येक वर्ष उनीहरूको ऊर्जा बिलमा १००० डलर बचत गर्न मद्दत गर्ने दाबी गरेकी छिन्।
उनले राज्यको कार्बन उत्सर्जन २०३५ सम्म ७५ देखि ८० प्रतिशतसम्म र २०४५ सम्म शतप्रतिशत घटाउने लक्ष्य पूरा गर्न पनि ग्यास निर्भरता घटाउनु महत्वपूर्ण रहेको बताइन्।
सरकारी तथ्याङ्क अनुसार राज्यको कार्बन उत्सर्जनमा ग्यास क्षेत्रको मात्रै १७ प्रतिशत भाग रहेको छ।
अष्ट्रेलियामा कार्बन उत्सर्जनको विरूद्धमा लागिरहेको ग्रिन्सले भिक्टोरियालाई प्रदूषित जीवाश्म ईन्धनबाट टाढा लैजान मद्दत गर्न आवश्यक उपायहरू मध्ये यो पनि एक भएको बताउँदै सरकारको घोषणाको समर्थन गरिरहेको छ।
रोयल अष्ट्रेलियन कलेज अफ जनरल प्र्याक्टिसनर्स (आरएसिपी) ले पनि सुरक्षाको हितमा भएको भन्दै यो प्रतिबन्धको स्वागत गरेको छ।