महिला विश्वकपमा मोरोक्कोको ऐतिहासिक जित, हिजाब लगाएरै बेन्जिनाले खेलिन् विश्वकप
साउन १४, मेलबर्न, अष्ट्रेलिया । अफ्रिकी टोली मोरोक्कोले अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ। आइतबार हिन्डमार्स स्टेडियममा भएको खेलमा मोरोक्कोले दक्षिण कोरियामाथि १ – ० गोल अन्तरको जित निकालेको हो।
मोरक्कोको महिला विश्वपकमा यो पहिलो गोल तथा पहिलो जित हो। मोरक्कोका लागि छैठाैँ मिनेटमा इब्तिसाम ज्राइदीले गरेको गोल नै जितका लागि पर्याप्त भयो। त्यसपछि लगातार कोरियाले खेलमा दबाब राखेता पनि पोस्टमा प्रहार गर्न सकेन।
आइतबारको हारसहित कोरिया अंक तालिकाको पुछारमा रहँदै अन्तिम १६ को यात्रा लगभग समाप्त भएको छ। समूह एच अन्तर्गतको पहिलो खेलमा कोरिया कोलम्बियासँग २-० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै, मोरक्कोले भने जर्मनीसँग ६-० गोल अन्तरको पराजय व्यहोरेको छ।
समूह चरणको अन्तिम खेलले मोरक्कोको अन्तमि १६ को यात्रामा महत्वपूर्ण भूमिका खेल्नेछ।
हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी
यसैबिच मोरक्कोकी डिफेन्डर नाैहैला बेन्जिना हिजाब लगाएर विश्वकप फुटबल खेल्ने पहिलो खेलाडी बनेकी छिन्। सुरूवाती ११ बाटै मैदानमा रहेकी २५ वर्षीया डिफेन्डरले हिजाब लगाएर नै खेलेकी थिइन्।
बेन्जिनाले व्यक्तिगत रेकर्ड बनाएको खेलमा टोलीले नै पहिलो जित निकाल्दै अर्को इतिहास समेत बनाएको छ।