स्पेनमाथि जापानको सानदार जित, अन्तिम १६ मा नर्वेसँग प्रतिस्पर्धा गर्ने
साउन १५, मेलबर्न, अष्ट्रेलिया । एसियन मुलुक जापानले स्पेनमाथि सानदार जित हात पारेको छ। महिला विश्वकप अन्तर्गत अष्ट्रेलियामा जारी समूह चरणको अन्तिम खेलमा स्पेनमाथि ४–० गोलको सानदार जित निकाल्दै जापान समूह सीको विजेता समेत बनेको छ।
जापानको सानदार जितमा जापानका लागि हिनाता मियाजावाले २ तथा रिको युएकी र मिना तानाकाले एक/एक गोल गरे।
अधिकांश समय बलमाथि स्पेनले नियन्त्रण राखेता पनि अन्तिम परिणाममा भने जापान उत्कृष्ट देखियो। स्पेनले खेलको दाैरान १० वटा सट प्रहार गर्दा २ वटा मात्रै टार्गेटमा लागेको थियो।
जापानका लागि पहिलो हाफको १२औँ मिनेटमा गोल गर्दै हिनाताले सुरूवाति अग्रता दिलाइन्। त्यसैगरी, पहिलो हाफको २९ औँ मिनेटमा रिकोले गोल गर्दा जापानको अग्रता दोब्बर भयो। पहिलो हाफको ४०औँ मिनेटमा हिनाताले व्यक्तिगत दोश्रो गोल गर्दा ३–० को अग्रता सहित जापान जित उन्मुख भएको थियो।
तर, खेलको दोश्रो हाफमा पनि जापानले गोल गर्ने क्रम जारी राख्यो। दोश्रो हाफको ८२औँ मिनेटमा मिनाले गोल गर्दा जापानको जित सुनिश्चित भयो। यस सानदार जितसँगै जापान ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
जापानले समूह चरणमा यसअघि भएका खेलमा जाम्बिया र कोस्टारिकालाई हराएको थियो।
समूह सिबाट जापानसँगै स्पेन पनि दोश्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। जाम्बिया र कोस्टारिकामाथि नै जित हात पारेको स्पेन ६ अंक सहित दोश्रो स्थानमा रहेको छ।
समूह सीको तेश्रो र चाैथो स्थानमा रहँदै जाम्बिया र कोस्टारिका भने घर फर्किएका छन्। अन्तिम १६ मा अब जापानले समूह एको उपविजेता नर्वे तथा स्पेनले विजेता स्विट्जरल्याण्डको सामना गर्नेछन्।