अष्ट्रेलियाको सैनिक हेलिकप्टरमा परी बेपत्ता भएका ४ जना सैनिकहरू मृत घोषित, खुल्यो पहिचान


साउन १६, मेलबर्न, अष्ट्रेलिया । क्वीन्सल्याण्डको तटमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका चारजना बेपत्ता सैनिकहरूलाई मृत घोषित गरिएको छ। २ दिनसम्मको खोजीमा पनि उनीहरूलाई फेला पार्न नसकिएपछि मृत घोषित गरिएको हो।

उनीहरूलाई मृत घोषित गरिएसँगै सहकर्मी, परिवार, साथीभाइ र सरकारले उनीहरूको सेवाको कदर गर्दै सम्मान प्रकट गरेका छन्।

रक्षा मन्त्री रिचर्ड मार्ल्सले MRH-90 Taipan हेलिकप्टरको टुक्रा फेला परेको बताएका छन्। सैन्य तालिममा सहभागि उक्त हेलिकप्टर ह्यामिल्टन टापु नजिकै रहेको लिन्डम्यान आइल्याण्ड नजिकै शुक्रबार राती करिब ११ बजे खसेको थियो।

जहाजमा रहेका र बेपत्ता भएकाहरुको पहिचान खुलेको छ। उनीहरू क्याप्टेन ड्यानियल लियोन, लेफ्टिनेन्ट म्याक्सवेल न्युजेन्ट, कर्पोरल अलेक्जेन्डर नाग्स र वारेन्ट अफिसर जोसेफ लेकक रहेका छन्।

मन्त्री मार्ल्सले यस दुर्घटनाको बारेमा पूर्ण र गहन अनुसन्धान हुने पुष्टि गरेका छन्।

त्यस्तै, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पीडितका परिवारप्रति संवेदना प्रकट गर्दै हवाइ क्षेत्रमा थप संवेदनशील हुन जरूरी रहेको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?