अष्ट्रेलियामा एक जनामाथि लाग्यो १ हजार ६२३ वटा बलात्कार र यौन दुर्व्यवहारको आरोप
साउन १७, मेलबर्न, अष्ट्रेलिया । एक अष्ट्रेलियाली बाल हेरचाह कार्यकर्तालाई बालिकाहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै १ हजार ६२३ वटा अभियोग लगाइएको छ।
उनले बाल शोषण सामग्री बनाउनका लागि ती दुर्व्यवहार गरेको आरोप समेत लगाइएको छ।
गोल्ड कोस्टका ४५ वर्षीय व्यक्तिले २००७ देखि २०२२को बिचमा ब्रिसबेन, सिड्नी र विदेशमा १९ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको संघीय प्रहरीले मंगलबार खुलासा गरेको छ।
एएफपी सहायक आयुक्त जस्टिन गफले यी आरोपहरूलाई अत्यन्तै पीडादायी र अकल्पनीय भनेर वर्णन गरेकी छन्। ती व्यक्तिले दुर्व्यवहार गरेका अधिकांश बालबालिका सानो उमेरका बालिका भएको पनि उनले बताएकी छन्।
” गोल्ड कोस्टका ४५ वर्षीय व्यक्तिले आफ्नो फोन र क्यामेरामा यो सबै अपमानजनक व्यवहार रेकर्ड गरेका छन्।”, कोफले भनेकी छन्।
ति व्यक्तिमाथि १३६ वटा बलात्कार र १० वर्षभन्दा मुनिका बालिकासँग ११० वटा याैनजन्य क्रियाकलाप गरेको आरोप लगाइएको छ। उक्त व्यक्तिले सन् २००७-२०१३ र २०१८-२०२२ मा ब्रिस्बेनका १० बाल हेरचाह केन्द्रहरूमा केटीहरूलाई लक्षित गरेको पाइएको छ।
२०१४ देखि २०१७ को बिचमा सिड्नीको बाल हेरचाह केन्द्र र सोही अवधिमा उनले विदेशमा पनि याैन दुर्व्यहार गरेको प्रमाण प्रहरीले जुटाएको छ। उनले विदेशमा ४ बालिकामाथि याैन दुर्व्यवहार गरेको पाइएको छ।
त्यस्तै, उनले बालबालिकाहरूमाथि दुर्व्यवहार गरेको ४ हजारभन्दा बढी फोटो तथा भिडियो समेत रेकर्ड गरेको पाइएको छ। रेकर्डिङबाट पीडित सबैको पहिचान भइसकेको छ र उनीहरूका अभिभावकलाई यसबारे जानकारी गराइएको छ।
केही पीडितहरू १८ वर्ष भन्दा माथि भएका कारण व्यक्तिगत रूपमा अनुसन्धानको बारेमा जानकारी दिइएको प्रहरीले जानकारी दिएको छ।
सङ्घीय, क्वीन्सल्याण्ड र न्यु साउथ वेल्स प्रहरी यस घटनाको बारेमा अनुसन्धानमा संलग्न भएको छ।
उनी अगस्ट २०२२ देखि क्वीन्सल्याण्डमा हिरासतमा छन्। अधिकारीहरूले त्यसबेलादेखि उनका पीडितहरूको पहिचान गर्न र उनको अपराध पत्ता लगाउन काम गरिरहेका छन्।