महिला विश्वकप : ब्राजिल र अर्जेन्टिना घर फर्किए – स्वीडेन, दक्षिण अफ्रिका, जमैका र फ्रान्स अन्तिक १६ मा


साउन १७, मेलबर्न, अष्ट्रेलिया । स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।

स्विडेनको जितमा रेबिका ब्लोमक्विस्टले ६६औं र एलिन रुबेनसनले ९०ओं मिनेटमा गोल गरिन् । जितसँगै तीन खेलबाट नौ अङ्क बनाएको स्विडेन समूह विजेता बन्यो । समान खेलबाट एक अङ्क बनाएको अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ ।

यस्तै अर्को खेलमा दक्षिण अफ्रिकालाई जिताउन हिल्दाह मागाए र थेम्वी केगाटालनाले एक एक गोल गरिन् । दक्षिण अफ्रिकाले अर्को गोल इटालीबाट आत्मघाती उपहार पाएको थियो ।

इटालीका लागि दुवै गोल एरिएना करुसोले गरिन् । जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह उपविजेता बन्यो । पराजित इटाली तीन अङ्क जोड्दै विश्वकपबाट बाहिरियो ।

ब्राजिल पनि फर्कियो घर

फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा फ्रान्सले पानमालाई ६–३ गोलले हरायो ।

अर्को खेलमा जमैकाले ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । जितसँगै समूह विजेता बनेको फ्रान्सले तीन खेलबाट सात अङ्क बनायो ।

समान खेलबाट पाँच अङ्क बनाएको जमैका उपविजेता बन्यो । जमैकासँगको बराबरी ब्राजिलका लागि निकै महङ्गो बनेको छ । बराबरीसँगै चार अङ्क बनाएको ब्राजिल विश्वकपबाट बाहिरिएको छ । विश्वकपबाट बाहिरिएको पानमा अङ्कबिहिन बन्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?