मेलबर्नमा जन्मदिन मनाइरहेका नेपाली किशोरमाथि चक्कु प्रहार


Photo Credit : 7 News

साउन १९, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको पश्चिमी उपनगरमा आफ्नो जन्मदिन मनाउँदै गरेकी नेपाली किशोरमाथि चक्कु प्रहार भएको छ। गत साँझ रियान सिंह र उनका दुई साथीहरूलाई एक गिरोहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

करिब सात देखि आठ पुरुषहरूको एउटा समूहले तीनै जनालाई धम्की दिँदै मोबाइल फोनहरू दिन तर्साएको थियो। त्यस्तै, रियानलाई उसले जन्मदिनमा लगाएको नाइके एयर जोर्डन जुत्ता समेत फुकाल्न लगाएको बताइएको छ।

१० कक्षामा अध्ययनरत रियानको हात, पाखुरा, ढाड तथा टाउको पछाडी चक्कु प्रहार गरिएको थियो। भिक्टोरिया पुलिसका अनुसार उनका एक साथीलाई पनि छुरा प्रहार गरिएको थियो।

रियानको परिवार यस आक्रमणबाट त्रसित भएका छन्। उनकी आमा सुष्मा मानन्धरले यस्तो आक्रमण सह्य नभएको बताएकी छिन्। त्यस्तै, रियानका बाबु राजीवले यस्तो कायरतापूर्ण हमलाविरुद्ध समुदायले आवाज उठाउनुपर्ने र किशोरकिशोरीको सुरक्षाका लागि पनि सचेत हुनुपर्ने बताएका छन्।

रियानको उपचारका लागि आर्थिक सहायता गर्ने उद्देश्यले ‘गोफन्डमि’मा सहयोग सङ्कलन समेत सुरू गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?