हन्टर भ्यालीमा १० जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाका चालकविरूद्ध ५२ नयाँ अभियोग दर्ता


साउन १९, मेलबर्न, अष्ट्रेलिया । हन्टर भ्यालीमा १० जनाको ज्यान गरी भएको दुर्घटनाका बस चालकविरूद्ध थप ५२ वटा अभियोग लगाइएको छ। उक्त बसका चालक ब्रेट एन्ड्रयू बटनले अब ग्रेटामा जुन ११मा भएको दुर्घटनामा कुल ६३ वटा आरोपको सामना गर्नुपर्ने भएको छ।

५८ वर्षीय चालकलाई सुरूमा १० वटा अभियोग लगाइएको थियो। उक्त अभियोगहरू खतरापूर्ण रूपमा सवारी चलाएको, लापरबाही गर्दै बस चलाएको र त्यु भएका यात्रुहरूसँग सम्बन्धित थिए।

यो साता उनि विरूद्ध ५२ वटा नयाँ आरोप थपिएका छन्। ती आरोपहरू सवारीसाधन चलाउँदा गम्भीर शारीरिक हानी, सबारी चलाउँदा गरेको अस्वभाविक व्यहार लगायत रहेका छन्। आरोपहरू अधिकांश घाइते पाहुनासँग सम्बन्धित भएको बताइएको छ।

बटन नजिकैको वान्डिन एस्टेट वाइनरीमा मिचेल ग्याफनी र म्याडी एडसेलको विवाहबाट सिंगलटनमा विवाहका पाहुनाहरूलाई ढुवानी गर्ने बसको चालक थिए। बटनले अत्यन्तै तीव्र गतिमा सवारी चलाएका कारण उक्त दुर्घटना भएको प्रहरीले दाबी गरेको छ।

एक रात हिरासतमा बिताएपछि बटनलाई कडा सशर्त जमानतमा रिहा गरिएको थियो। उनको अर्को अदालती हाजिर अगस्ट ९ मा न्यूक्यासल स्थानीय अदालतमा तय भएको छ।

विवाहमा गएको पाहुन बोकेको बस दुर्घटनामा केन साइमन्स, एङ्गस क्रेग, रेबेका मुलेन, डार्सी बुलम्यान, नाडेन र क्याह म्याकब्राइड, एन्ड्रयू र लिनन स्कट, टोरी काउबर्न र जाचरी ब्रेको मृत्यु भएको थियो।

यस हप्ताको सुरुमा न्यु साउथ सरकारले बस दुर्घटनाको अनुसन्धान सकेको छ। तर, निष्कर्षहरू भने सार्वजनिक गरिएको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?