‘शहजादा’ फ्लपको असर, कार्तिकले रिमेकमा कहिलै काम नगर्ने
साउन २१, मुम्बई । अभिनेता कार्तिक आर्यनले आइन्दा रिमेकमा काम नगर्ने घोषणा गरेका छन्। उनले बीबीसी एसिया नेटवर्कसँग कुरा गर्दै अर्काको जुत्तामा खुट्टा राखेर नहिँड्ने निर्णय गरेको बताएका छन्।
‘आज भोलि जुन फिल्मको पनि कुरा हुन्छ, कुनै न कुनै फिल्मको रिमेक हुन्छ। तर अब मैले यस्ता फिल्म नगर्ने निर्णय गरेको छु। म अरु कसैले बाँचिसकेको चरित्र बाँच्न चाहान्न,’ उनको भनाइ छ।
कार्तिक आर्यनको ‘शहजादा’ नराम्ररी फ्लप भएपछि उनी रिमेकसँग तर्सिन थालेका हुन्। दुई अर्ब हाराहारीमा बनेको फिल्मले जम्मा ४७ करोडको व्यापार गरेको थियो जसमा भारतको व्यापार ३८ करोड थियो।
यो फिल्म अल्लु अर्जुन अभीनित ‘आला बैकुण्ठपुरमलु’को रिमेक थियो। तेलगुमा बनेको यो फिल्मले दक्षिण भारतमा सुपरहिटको व्यापार गरेको थियो। यसैबाट लोभिएर निर्माताले यसको रिमेक बनाएका थिए। तर दर्शकले यो फिल्म हेर्ने कष्ट गरेनन् । यही हालत साहिद कपुर अभीनित ‘जर्सी’को पनि भएको थियो।