क्विन्सल्याण्डको घरमा आगलागी हुँदा ५ बालकसहित ६ जनाको मृत्यु


साउन २२, मेलबर्न, अष्ट्रेलिया । क्विन्सल्याण्डको रसेल आइल्याण्डमा रहेको एउटा घरमा आगलागी हुँदा पाँच बालक र एक पुरूषको मृत्यु भएको छ।

आइतबार बिहान करिब ६ बजे टोडम्यान स्ट्रिटमा रहेको एउटा घरमा आगो लागेको थियो। चाँडै अन्य तीन घरहरूमा फैलिएको आगोले सबै क्षतिग्रस्त बनाएको थियो।

घटनास्थलमा ३४ वर्षीय पुरुष र ११, १० र तीन वर्षीय बालक तथा चार वर्षका जुम्ल्याहाहरूको शव आकस्मिक टोलीले आगो निभाउन सफल भएपछि फेला परेको थियो।

उनीहरूको पहिचान पुष्टि गर्न पोर्ट-मार्टम गरिने जानकारी दिइएको छ।

२८ वर्षीया महिला र २१ वर्षीया युवती आगोबाट बच्न सफल भएका छन्। अहिले उनीहरूको अस्पतालमा स्थिर अवस्थामा उपचार भइरहेको जानकारी अधिकारीहरूले दिएका छन्।

आगलागी के कारणले भयो भन्ने अहिले नै थाहा नभए पनि अनुसन्धान जारी छ। आइतबार दिउँसो एक अपडेटमा क्वीन्सल्याण्ड पुलिसका सुपरिटेन्डेन्ट म्याट केलीले घर पूर्ण रूपमा नै ध्वस्त भएको बताएकी छन्।

प्यारामेडिकहरूले आगलागीबाट जोगिएका नौ जनाको उपचार गरिरहेका छन्। सामान्य चोटपटक लागेका उनीहरुको उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?