चोटका कारण समस्यामा अष्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोस, युएस ओपनबाट नाम फिर्ता
साउन २८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोस युएस ओपनबाट बाहिरिएका छन्।
युएस ओपनले प्रतियोगिता सुरू हुन २ हप्तामात्रै बाँकी भएको अवस्थामा किर्गियोसले प्रतियोगिताबाट नाम फिर्ता लिएको घोषणा गरेको हो।
किर्गियोसले २०२३ मा एक पटक मात्र खेलेका छन्। जुन महिनामा जर्मनीको स्टटगार्टमा विम्बल्डनअघि भाग लिएको प्रतिस्पर्धामा चोटका कारण उनी पराजित भएका थिए।
घुँडाको चोटका कारण उनले यो वर्ष अष्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएर शल्यक्रिया गरेका थिए। त्यसपछि नाडीको चोटका कारण उनी फ्रेन्च ओपन र विम्बल्डनबाट समेत बाहिरिएका थिए।
विश्व बरियतामा ९२ स्थानमा रहेका किर्गियोस युएस ओपनबाट बाहिरिएसँगै एटिपी टुर र्याङकिङबाट बाहिरिएका छन्। अब उनले ग्रान्ड स्ल्यामहरूमा फर्किनका लागि छनाेट चरणहरू पार गर्नुपर्ने भएको छ।
२०२२ मा आफ्नो सबैभन्दा सफल वर्ष विम्बल्डन फाइनलसम्मको प्रभावशाली टर्निङ प्वाइन्टमा पुगेपछि किर्गियोसको करियरमा चोटको समस्या देखिएको हो।
किर्गियोसले यस वर्ष विम्बल्डनबाट बाहिरिनुभन्दा केही घण्टाअघि आफूलाई टेनिस खेल्न मन नपर्ने पनि बताएका थिए।
गत वर्ष युएस ओपनको क्वार्टर फाइनलमा पुगेका २८ वर्षीय किर्गियोसले त्यतिबेलाका विश्व नम्बर एक ड्यानिल मेदवेदेवलाई नकआउट गरेका थिए।
यद्यपि उनी अन्तिम आठमा रुसी २७औं वरियताका करेन खाचानोभसँग पराजित भए र प्रतियोगिताबाटै निराशाजनक रूपमा बाहिरिए।
युएस ओपन आयोजकहरूले शुक्रबार विश्व नम्बर २५ जर्मनीका जान-लेनार्ड स्ट्रफले पनि वर्षको अन्तिम ग्रान्ड स्लाम प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका छन्।
किर्गियोस र स्ट्रफलाई मुख्य ड्रमा फाकुन्डो डियाज अकोस्टा र अर्जेन्टिनाका डिएगो श्वार्ट्जम्यानले प्रतिस्थापन गरेका छन्।