महिला विश्वकप : फाइनल प्रवेशका लागि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै
साउन ३१, मेलबर्न, अष्ट्रेलिया। फिफा महिला विश्वकपको दोश्रो सेमिफाइनलमा आज आयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै छन्। स्टेडियम अष्ट्रेलियामा हुने खेल नेपाली समय अनुसार साँझ ३ः ४५ बजे सुरू हुनेछ ।
आजको खेलमा जित हात पार्ने टोली फाइनलमा उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेन भने मंगलबार भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।
अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो। समूह बीको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको अष्ट्रेलिया डेनमार्कलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो।
त्यस्तै, नाटकीय क्वार्टरफाइनलमा फ्रान्सलाई सडनडेथमा पराजित गर्दै अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो।
त्यसैगरी, समूह डीको विजेता हुँदै अन्तिम १६ मा नाइजेरियालाई पराजित गरेको इंगल्याण्डले क्वार्टरफाइनलमा कोलम्बियामाथि जित निकालेको थियो।
अमेरिका, जापान, जर्मनी र नर्वे बाहिरिएसँगै महिला विश्वकपको नवाैँ संस्करणमा नयाँ विजेता हुने निश्चित भइसकेको छ।