कप्तान साम केर भन्छिन् – फुटबल विकासका लागि थप आर्थिक सहयोग चाहिन्छ
साउन ३२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियन महिला फुटबल टोलीकी कप्तान साम केरले महिला फुटबल विकासका लागि थप आर्थिक सहयोग र अन्य समर्थनको आवश्यकता रहेको बताएकी छिन्।
अष्ट्रेलियामै जारी महिला विश्वकपमा अष्ट्रेलिया सेमिफाइनलसम्म पुग्न सफल भएको थियो। बुधबार भएको खेलमा इंगल्याण्डसँग ३-१ ले पराजित हुँदै बाहिरिएपछि कप्तान केरले उक्त प्रतिक्रिया दिएकी हुन्।
सिड्नी ओलम्पिक २००० मा क्याथी फ्रिम्यानले ४०० मिटर दाैडमा जित हात पार्दाको भन्दा बढी मानिसहरूको ध्यान बुधबारको सेमिफाइनल खेलमा ध्यान केन्द्रित भएको बताइएको छ।
अष्ट्रेलियाले सेमिफाइनल खेल्दै गर्दा अष्ट्रेलियामा अहिलेसम्म कै सबैभन्दा धेरै दर्शकले एकै पटक टिभि हेरेका थिए। रंगशाला समेत पुरा थियो। विश्वकपमा अष्ट्रेलियाको पुरुष र महिला दुवै टोलीको यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो।
अष्ट्रेलियामा फुटबल तेश्रो ठूलो लगानी भएको खेलमा पर्छ। मानिसहरू धेरै खेल्ने भएता पनि एएफएल र एनआरएलमा लगानी ठूलो छ।
बुधबार राति इङ्ल्यान्डसँग ३-१ गोलको हार बेहोरेपछि अष्ट्रेलियन टोलीसँगै कप्तान केर निकै निराश देखिन्थिन्। उनको एक सुन्दर गोलका बाबजुद अष्ट्रेलियाको विश्वकप यात्रा समाप्त भयो। उनले जारी विश्वकपमा बुधबारको खेल नै सुरूबाट खेलेकी थिइन्।
यसभन्दा अघिका खेलहरूमा चोटका कारण उनी सब्स्टिच्युट खेलाडीको रूपमा मैदानमा उत्रिएकी थिइन्।
“अन्य खेलहरूसँग तुलना गर्दा पर्याप्त आर्थिक सहयोग छैन। यो प्रतियोगिताले यसलाई परिवर्तन गर्न मद्दत गर्न सक्छ। मैदान बाहिर तपाईंको प्रभाव तपाईंको विरासतको लागि सबैभन्दा महत्त्वपूर्ण छ, यसमा तपाईंको प्रदर्शन मात्र होइन।” उनले भनेकी छन्।
त्यस्तै, टोलीको उपकप्तान स्टेफ क्याटलीले केरको विचारमा सहमति जनाउँदै विश्वकपको यो यात्रा सुरूवात मात्रै भएको बताएकी छन्।