एसिया कप क्रिकेट : नेपालले टस हार्याे, भारतविरुद्ध पहिला ब्याटिङ गर्दै
भदौ १८, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ। श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ।
नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा छिमेकी टोली भारतसँग खेल्न २७ वर्ष कुनु पर्याे। सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो। एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहे पनि विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन।
एसिया कपको यस खेलले समूह ‘ए’ को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ। समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ। त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ।
पाकिस्तान दुई खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो। भारतको एक खेलमा एक अङ्क छ। एक खेल खेलेको नेपाल अङ्कविहीन छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी भीम सार्की, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दिप लामिछाने र ललितनारायण राजवंशी छन्।
त्यस्तै भारतको प्लेइङ ११ मा कप्तान रोहित शर्मासहित शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, हार्दिक पान्ड्या, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव छन्।