१० दिनदेखि अष्ट्रेलियामा नवीन बेपत्ता, प्रहरीले तीव्र पार्यो खोजी कार्य
भदाै २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियन प्रहरीले सिड्नी सीबीडीबाट बेपत्ता भएका एक नेपाली व्यक्तिलाई खोज्न सार्वजनिक सहयोगको अपिल गरेको छ।
२३ वर्षीय नवीन खनाललाई अन्तिम पटक शनिबार (२६ अगस्ट २०२३) बेलुकी ५ बजे सेन्ट्रल रेलवे स्टेशन, सिड्नीमा देखिएको थियो। त्यसपछि उनि सम्पर्क विहीन भएको प्रहरीले बताएको छ।
उनलाई फेला पार्न नसकेपछि प्रहरीले यसबारे सुचित गर्दै उनको ठेगानामा सोधपुछ सुरु गरेको छ। प्रहरी नविनको सुरक्षा अवस्थाका कारण चिन्तित भएको जनाइएको छ।
उनलाई १८५ देखि १९० सेमी उचाइ भएका, मध्यम आकारको खैरो कपाल र खैरो आँखा भएका व्यक्तिको रूपमा वर्णन गरिएको छ।
उनलाई अन्तिम पटक कालो हुड भएको ज्याकेट, खैरो रंगको शर्ट, कालो प्यान्ट र पहेंलो लेन्ससहितको गोलो सनग्लास लगाएको अवस्थामा देखिएको थियो।
सार्वजनिक यातायात प्रयोग गर्ने नविन सदरल्याण्ड, स्टानमोर र न्युटन क्षेत्रमा बारम्बार गइरहने बताइएको छ।
नबिनको ठेगाना बारे जानकारी भएमा प्रहरी वा क्राइम स्टपर्सलाई 1800 333 000 मा सम्पर्क गर्न आग्रह गरिएको छ।