१६ वर्षीय विद्यार्थीसँग याैन सम्पर्क गरेको आरोप लागेकी भिक्टोरियाकी शिक्षिका जेल जानबाट पुनः जोगिइन्
भदाै २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा एक शिक्षिकाले १६ वर्षीय विद्यार्थीसँग याैनसम्बन्ध राखेको आरोपमा पुनः जेल सजायबाट जोगिएकी छन्। अभियोजकहरूले उनको सामुदायिक कार्य आदेश उल्ट्याउन असफल भएपछि उनी जेल जानबाट फेरी बचेकी हुन्।
३१ वर्षीया मोनिक ओम्सले ती विद्यार्थीसँग इन्स्टाग्राम र टेक्स्ट म्यासेजहरूमा कुरा गरेर २०२२ को मध्यतिर याैन सम्बन्ध राखेको अभियोग लगाइएको छ। यो घटनाका बारेमा गोप्य राख्ने शर्तमा विद्यालयलाई जानकारी गराइएपछि ओम्स बर्खास्त भएकी थिइन्।
मार्चमा ओम्सलाई उनको हेरचाह वा सुपरिवेक्षणमा रहेका १६ वा १७ वर्षको बच्चालाई यौन दुर्व्यवहार गरेको चारवटा आरोपमा दोषी ठहरिएपछि ३०० घण्टा सामुदायिक कार्य गर्न आदेश दिइएको थियो।
पब्लिक प्रोसिक्युसनका निर्देशकले उनको कार्य धेरै खराब भएको भन्दै उनी जेल नै जानुपर्ने माग सहित उक्त निर्णयविरुद्ध अपील गरेका थिए।
अभियोजन पक्षले ओम्सलाई सजाय दिने न्यायाधीशले उनको कार्य कत्तिको गम्भीर थियो भनेर पूर्णतया महसुस नगरेको तर्क गरेको थियो। उनीहरूले शिक्षकको रूपमा उनको कामले उनलाई संलग्न बालकसँग नजिक हुन सजिलो बनाएको विश्वास गरेका थिए।
हाल गर्भवति रहेकी ओम्स मंगलबार मेलबर्न कोर्ट अफ अपीलको पछाडि बसेकी थिइन्। जेल जानु नपर्ने थाहा पाएपछि उनी रोएको समेत बताइएको छ।
न्यायधिश रिचर्ड नियाल, मारी केनेडी र क्यामरुन म्याकालेले अपीललाई खारेज गर्दै न्यायधीशले आफ्नो सामुदायिक कामलाई सजायको रूपमा दिँदा कुनै गल्ती नगरेको बताए।