सद्भाव भड्काएको आरोपमा श्रीनिवासाचार्य पक्राउ
असोज १७, विराटनगर । प्रहरीले हिन्दु धार्मिक गुरु श्रीनिवासाचार्य भनिने दिनेश पण्डितलाई मंगलबार पक्राउ गरेको छ।
सुनसरी प्रहरीले उनलाई अपरान्ह ४ बजेतिर सुनसरीको चतराधामस्थित आश्रमबाट नियन्त्रणमा लिएको जनाइएको छ। उनलाई पक्राउ गर्नुको यथेष्ट कारण भने प्रहरीले खुलाएको छैन। तर उनीमाथि धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्नता रहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनमा पक्राउ गरेको प्रहरी स्रोतको भनाई छ।
केही दिन अघि मात्रै श्रीनिवासाचार्यले जनकपुर पुगेर हातमा नाङ्गो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणायुक्त अभिव्यक्ति दिएका थिए। त्यो अभिव्यक्ति सामाजिक सञ्जालमा फैलिएपनि उनको आलोचना समेत भइरहेको छ। त्यसैलाई आधार मानेर माथिको निर्देशन अनुसार सोधपुछका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ।
नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्छ भन्दै उनले अभिव्यक्ति दिने गरेका छन्। बाराको सिमरा घर भएका उनले २०७४ चैत २५ बिहानको राती करिब १ बजेतिर विराटनगरमा आफैंलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए। प्रहरीले अनुसन्धानका क्रममा उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई पाखुरामा गोली हान्न लगाएको खुलेको थियो।
उनीमाथि हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएकोमा अदालतमा पुनरावेदन गरेका थिए। उनलाई सुरक्षाको कारण देखाएर सुनसरीको झुम्का कारागार राखिएपन २० दिनपछि रिहा भएका थिए।