अमेरिकाले इजराइललाई नयाँ सैन्य सहयोग दिने सम्भावना


तस्बिर : यूसुफ मसूद/यूसेफ मसूद–एसोसिएटेड प्रेस

असोज २२, एजेन्सी । हमासको आक्रमणपछि अमेरिकाले इजराइलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन्। अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो।

“इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौँ, मेरो विचारमा आइतबार यसबारेमा तपाईँले अझ धेरै थाहा पाउनुहुनेछ”, ब्लिङ्केनले सीएनएनसँग भने, “हमासबाट भएको इजराइलमाथि आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति (जो बाइडेन) को निर्देशन थियो।”

दशकौँमा भएको पछिल्लो सङ्घर्षमा इजराइली पक्षमा एक हजार बढीको मृत्यु भएको सरकारी प्रेस कार्यालयले जनाएको छ। त्यस्तै कम्तीमा गाजामा कम्तीमा तीन सय ७० मारिएको गाजा अधिकारीहरूले जनाएका छन्। सङ्घर्षमा दुवै पक्षका गरी हजारौँ घाइते भएका छन्।

“धेरै अमेरिकी मारिएको हामीलाई रिपोर्ट प्राप्त भएको छ, हामी त्यसको पुष्टि गर्न अथक काम गरिरहेका छौँ, साथै अमेरिकीहरू हराएको पनि समाचार छ, हामी त्यसको पुष्टि गर्न काम गरिरहेका छौँ”, विदेशमन्त्री ब्लिङ्केनले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?