मेसीले आठौं पटक जिते बालोन डे’ओर अवार्ड
कार्तिक १४, काठमाडौँ । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन्। गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन्।
मेसीले म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जितेका छन्। फ्रान्स फुटबले प्रदान गर्ने यस अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए। त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते। उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए।
महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन्। २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो। उनले पहिलो पटक यो अवार्ड जितेकी हुन्।
विश्वका १०० पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ।
मेसीले अर्जेन्टिनालाई १९८६ पछि पहिलो पटक विश्वकपको उपाधि जिताउन टिमको नेतृत्व गरेका थिए। यस्तै अमेरिकन क्लब इन्टर मायामीलाई लिग्स कपको रुपमा पहिलो ट्रफी जिताउन पनि उनले मद्दत गरे।
मेसीले सबैभन्दा नजिक रहेका क्रिकस्टियानो रोनाल्डो भन्दा ३ बढी बालोन डे’ओर अवार्ड जितिसकेका छन्। रोनाल्डोले २०१७ मा अन्तिम पटक यो अवार्ड जितेका थिए। सन् २००३ पछि अल नासेरका फरवार्ड रोनाल्डो पहिलो पटक अवार्डको मनोनयनमै परेनन्।