एन्फाको विशेष साधारण सभा आज
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ। आज हुने विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सँग सम्बन्धीनिर्णयको छिनोफानो गर्ने बताइएको छ।
नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए। उनिहरुले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका हुन्।
तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्नेनिर्णय सहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन्। विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन्।
नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभाले मतदान गर्नेछ। एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाई अर्थात कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ।