अमेरिका र क्यनडा जोड्ने पुलमा विस्फोट, दुई जनाको मृत्यु
मंसिर ७, काठमाडौं । अमेरिका र क्यानडा जोड्ने पुलमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। साथै दुई देशबीचको आवतजावत पनि बन्द गरिएको छ। न्युयोर्कको नियाग्रा फल्स नजिकै एउटा गाडीमा विस्फोट भएपछि रेन्बो ब्रिज बन्द गर्नुपरेको जनाइएको छ। अहिले एफबीआईले ‘आतंकवादी हमला’ को कोणबाट यस विषयमा अनुसन्धान गरिरहेको छ।
फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले विज्ञप्तिमार्फत स्थिति निकै अस्थिर रहेको बताएको छ। सञ्चारमाध्यमका अनुसार विस्फोटपछि सुरक्षा अधिकारीहरूले यस क्षेत्रमा रहेका चारवटा युएस–क्यानाडा सीमा नाका बन्द गरेका छन्। विष्फोटमा मारिएकाहरुको राष्ट्रियता अझै स्पष्ट भइनसकेको अधिकारीहरुले बताएका छन्। एक वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले उक्त कार अमेरिकाबाट आएको बताए। सीमा नाकाको भन्सार स्टेशनमा ठोक्किएपछि गाडी विस्फोट भएको हो।
घटना पछि, पश्चिमी न्यूयोर्क र ओन्टारियो बीचको अन्य तीन पुलहरू सावधानीका रूपमा तुरुन्तै बन्द गरिएको थियो भने सुरक्षा अधिकारीहरूले बफेलो–नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा सबै कारहरू जाँच गर्न थालेका छन्। अधिकारीहरुले यात्रुहरूलाई अनुसन्धानमा सहयोग गर्न आग्रह पनि गरेका छन्।
नियाग्रा फ्रन्टियर यातायात प्राधिकरणले ट्विटरमा एक पोस्टमा भन्यो,‘बफेलो एयरपोर्टमा आउने सबै कारहरूको सुरक्षा जाँच भइरहेको छ। हामी यात्रुहरूको अतिरिक्त स्क्रिनिङको पनि अपेक्षा गर्दछौं। अहिले गाडीमा विष्फोट हुनुको कारण खुल्न सकेको छैन।’
नोभेम्बर २३ मा भएको सो घटनाको बफेलोमा रहेको एफबीआई फिल्ड अफिसले विष्फोटको अनुसन्धान गरिरहेको र अन्य अनुसन्धान एजेन्सीका अधिकारीहरू पनि घटनास्थलमा रहेको विज्ञप्तिमार्फत जनाएको छ।