मेलबर्नमा विदेशी ग्राहकसामु नेपाली खानेकुरा चिनाइरहेको ‘रक्सी’
कार्तिक १३, मेलबर्न, अष्ट्रेलिया । पछिल्लो समय अष्ट्रेलिया सहित अन्य विदेशी मुलुकमा समेत नेपाली खानेकुराहरू परिचित भइरहेका छन्। केही समयअघिसम्म नेपाल छोडेपछि नेपाली खानाको नै माया मार्नुपर्ने अवस्था अहिले परिवर्तन भएको छ। ठूला शहरमा नेपाली रेष्टुरेन्ट र पसलहरू धेरै देखिन्छन्।
अझै अष्ट्रेलियामा यो क्रम बढ्दो छ। अष्ट्रेलियाको मेलबर्नमा बसुन्जेल नेपाली खानामात्रै खान्छु नै भन्यो भने पनि भोकै बस्नुपर्दैन। शहर एक फन्को लगाउँदा सयाैँ नेपाली रेस्टुरेन्टहरू भेटिन्छन्।
तिनै सयाैँ मध्येको एक हो, मेलबर्नको रक्सी । नाम रक्सी भएता पनि यसमा रक्सी भन्दा नेपाली खानेकुराहरू परिचित छन्। जसको व्यस्थापन स्याङ्जा घर भएका युवा सेफ सागर शर्माले गरिरहेका छन्।
रक्सीको चिनारी दिनुपर्दा यो मेलबर्नको मुख्य शहरमा रहेको नेपालीले लगानी गरेको ठूलो बार र रेस्टुरेन्ट हो। जसले पछिल्लो एक वर्षदेखि नेपालीहरूको नेपाली खानाको न्यास्रो मेटाउने प्रयास गरिरहेको छ भने विदेशीसामु नेपाली खानेकुरा प्रवर्द्धन गरिरहेको छ।
रक्सीको उद्देश्य के हो ? भन्ने एमएनटिभीको प्रश्नमा सेफ सागर भन्छन्, ‘उत्कृष्ट खाना खुवाउने ठाउँ, केही कार्यक्रम गर्ने उपयुक्त भेन्यु र नेपाली स्वादका परिकार सहित बारको अनुभुती दिन सकियोस् भन्ने उद्देश्यले रक्सी सञ्चालन भइरहेको छ।’
सङ्घर्षका सुरूवाती चरण पार गरिसकेको रक्सीले सञ्चालनको उद्देश्य भेट्टाउन सुरू गरिसकेको सेफ सागर बताउँछन् ।
रक्सीमा पुग्नेहरूले २ जनाको परिवारदेखि ठूलो परिवारसम्मका लागि पुग्ने नेपाली खानेकुराको मेन्यु पाउँछन् । यसमा नेपालमा खुबै रूचाइएको सेकुवा, भुटन सहित पानीपुरी र चटपटे समेत छन् । त्यसमा मःमः अनि चाउमिन छुट्ने कुरै भएनन्।
तर, रक्सी नेपाली ग्राहकप्रति मात्रै केन्द्रित छैन। पश्चिमि खाना खाएर हुर्किएका मानिसहरूमा लागि पनि नेपाली खानेकुरा पस्कने प्रयास रक्सीले गरिरहेको छ। जसमा पश्चिमी खानेकुराको मेन्युमा नेपाली खानेकुराहरूको सम्मिश्रणसाथै खानेकुरामा मसलाहरूको मात्रा कमी गर्नेसम्मको प्रयास भइरहेको छ।
रक्सीमा २२ जना नेपालीले काम गरिरहेका छन्। त्यसमा किचनमा ११ जना र फ्रन्ट सर्भिस सहित बारमा समेत ११ गरेर २२ जनाको टोलीले अहिले रक्सीमार्फत खानेकुरा पस्किइरहेको छ।
रक्सिमा जानेहरूले पोर्क सेकुवा, भुटन र चाउमिन खाँदा नेपालमै खाएको अनुभुति गर्न पाउँछन्। तर, गोट सुप मःमः र पोर्क सेकुवाले ग्राहकहरूलाई रक्सीमा बोलाइरहने सागरको अनुभुति छ।
अष्ट्र्र्र्रेलिया आएको धेरै समय नभएपनि सागरले रक्सी जस्तो व्यस्त रेष्टुरेन्ट सम्हालिरहेका छन्। उनि ग्राहकहरूले खाना खाएपछि दिने प्रतिक्रियाले काममा सन्तुष्टि र थप काम गर्ने उत्साह थप्ने बताउँछन्। ‘धेरै समय अष्ट्रेलियामा नबिताए पनि नेपाली खानेकुराको क्षेत्रमा गरेको कामबाट खुसी छु। जब टेबलमा पुगेको खाना खाएपछि ग्राहकले प्रतिक्रिया दिन्छ, त्यसपछि जे गरिरहेको छु त्यसमा सन्तुष्टि र थप केही गर्ने उत्साह दिन्छ।’ उनि भन्छन्।
रक्सीमा पुग्नेहरूले अनेक अनुभुति गर्न पाउँछन्। साँझको समयमा लाइभ म्युजिक समेत हुने भएकाले दिनभर कामले थकित अनुहारहरू त्यहाँ पुगेपछि संगितमा झुल्दै खानामा रमाइरहेका देखिन्छन्। त्यसमा पनि नेपालीहरूको महान चाड दशैँ र तिहारको समयमा बनाइने परम्परागत खानेकुराहरूको परिकारले त्यहाँ पुग्ने नेपालीहरूले घरमै भएको अनुभूति गर्न पाउँछन्।
रक्सीले मेलबर्नजस्तो ठाउँमा नेपाली खानेकुराको प्रवर्द्धन गरिरहेको भएता पनि अझै थप खानेकुरा विदेशी ग्राहकसामु पुर्याउने प्रयास जारी राखेको छ। यो क्रम कहिल्यै नरोकिने तर थपिँदै जाने सागर बताउँछन्।
‘विदेशमा नेपाली खाना परिचित हुनु हरेक नेपालीहरूका लागि गर्वको कुरा हो। अहिलेसम्म गरेका प्रयासहरू नेपाली खाना प्रवर्द्धन गर्न पर्याप्त नहुन सक्छ। यसका लागि सबै एकअर्कासँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने देखिन्छ।”, सागर भन्छन्, ‘सुधार गर्नका लागि अझै धेरै ठाउँहरू छन्। खानेकुराको स्वादको मामलामा ग्राहक सँधै सही हुन्छ। त्यसैले नेपाली खानालाई अझै परिचित बनाउन एकापसमा साथ र सहयोग गरौँ।’