वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगीको धमाधम अनुसन्धान, ३२ जना पक्राउ


मंसिर २७, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने नाममा हुने गरेका ठगीका घटनामा प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यस्ता गतिविधिमा संलग्न १ हजार ५ सय १३ जनामाथि अनुसन्धान गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोबिन्द पन्तका अनुसार हालसम्म पक्राउ परेकाको संख्या ३२ छ भने तीमध्ये धरौटीमा ८ जना छुटेका छन्।

असोज १९ गतेयता १ हजार ५ सय १३ जनामाथि अध्ययन गर्दा २ सय ४६ वटा सर्टिफिकेट, प्रहरी रिपोर्ट, नाता प्रमाणित जस्ता प्रमाणपत्रहरु नक्कली पाइएका छन्।

नक्कली डकुमेन्ट बनाएर वैदेशिक रोजगारीमा पठाउने छवटा ट्राभल एजेन्सीका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्याक्सका देवराज खनाल, एचआर टुर्स एण्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एएन होलिडेजका सरोज यादव, स्काइ ट्राभल्सका दिनेश ज्ञवाली तथा गणेश पाण्डेलगायत छन्।

नक्कली प्रमाणपत्रको आधारमा बाहिर जानका लागि अध्यागमन विभागले कडाई गर्ने हो भने कोही पनि बाहिर जान नसक्ने डिएसपी पन्तले बताए।

भिजिट भिसाका लागि आधारभूत योग्यता प्लस टू को सर्टिफिकेट, दुई लाख न्यूनतम बैंक ब्यालेन्स र बैंक स्टेट्मेटन्ट हुनुपर्ने तथा उताबाट भिजिट भिसा तथा होटेल बुकिङ हुनुपर्नेमा कतिपय कागजात नक्कली बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ।

टिकट बुकिङको काम गर्दै आएकाहरुले १०–१५ हजार लिएर नक्कली डकुमेन्टको आधारमा पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

अध्यागमनका कर्मचारीको हकमा नयाँबाट प्रतिव्यक्ति ५५ हजार र एकचोटि गएर फर्किएको हकमा प्रतिव्यक्ति ४४ हजार रुपैयाँ लिएर पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।

नेपाली महिलाहरुलाई भिजिट भिजामा लगेर बेचबिखन गर्ने तथा काम गर्दै जाँदा शोषणमा पर्ने गरेका छन्। प्रहरीले नेपाल एयरलाइन्सका दुईजना कर्मचारीलाई पनि पक्राउ गरेको जनाएको छ। छैंटौ तहका होम पोख्रेल र पाँचौ तहका अर्बेन्द्र यादवलाई नियन्त्रणमा लिएको उल्लेख गर्दै प्रहरीले अध्यमगनका अधिकृृत नलिब खड्कालाई मंगलवार पक्राउ गरिएको र अनुसन्धान अघि बढाइएको जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?