थमन विक हत्या मुद्दामा सांसद कोइरीले पाए सफाइ, शर्मासहित ८ जनालाई जन्मकैद


मंसिर २८, जनकपुर । सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतले एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ भने लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय फैसला गरेको छ।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हो। प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको अदालतले जनाएको छ।

आरोपितमध्ये १९ जना फरार छन्। उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ। एमालेका प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जनाविरुद्ध २०७२ फागुन २७ मा अदालत जिल्ला महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा दर्ता भएको थियो।

मधेस आन्दोलन भइरहँदा २०७२ भदौ २५ मा सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए। उनलाई उपचारार्थ जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरिएको थियो।

अदालतले जन्मकैदको सजाय सुनाएका शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन्। यसअघि पक्राउ पुर्जी जारी हुँदा लुकेर २०७५ साउन अन्तिम साता सोझै अदालत आएका उनी साधारण तारेखमा छुटेका थिए। प्रहरीको फरार सूचीमा रहेका बेला प्रदेशसभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?