म्यानमारकाे सेना विद्रोही समूहसँग हार खाँदै


पुस ६, एजेन्सी । म्यानमारका विद्रोही समूहहरू र जातीय सशस्त्र समूहहरू आफ्नै देशको सेनामाथि भारी पर्न थालेका छन्। पछिल्लो समय म्यानमारको सरकारी सेना र विद्रोहीहरुबीच लगातारजसो द्वन्द्व भइरहेको छ।

विद्रोहीहरूले चिनियाँ सीमानाका थप महत्वपूर्ण क्रसिङ पोइन्टहरू कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। शान राज्यको उत्तरी भागमा रहेको कोकाङ स्वशासित क्षेत्रको राजधानी लाउक्काङ टाउनशिपको सीमा नाका अहिले विद्रोहीको कब्जामा छ। यो चीनसँगको सीमामा रहेको पाँचौं क्रसिङ प्वाइन्ट हो।

चीनले म्यानमारको सैन्य शासनलाई खुलेर समर्थन गर्दै आएको छ। विद्रोहीको यो सफलताले म्यानमारका सैन्य शासक मिन आङ ह्लिङ र चिनियाँ राष्ट्रपति सी चीनपिङको भने चिन्ता बढाएको छ। दुई वर्षअघि म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो।

त्यसयता म्यानमारमा सैन्य शासन छ। म्यानमारको नेशनल डेमोक्रेटिक एलायन्स आर्मी नामक विद्रोही समूहले लौक्काङ टाउनशिप नजिकै रहेको क्रसिङ प्वाइन्ट कब्जा गरेको छ। तिनीहरूले यो क्रसिङ पोइन्ट कब्जा गर्न अक्टोबर २७ मा पहिलो आक्रमण गरेका थिए।

टाउङ नेशनल लिबरेसन आर्मी र अराकान आर्मीले पनि म्यानमारको सेनामाथि आक्रमण गर्न सेनामा सामेल भएका थिए। यी समूहले आफूलाई थ्री ब्रदरहुड एलायन्स पनि भन्छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?