इजरायलले भारतबाट १० हजार कामदार लैजाने
नयाँ दिल्ली । इजरायल र हमासबीचको युद्धका कारण गाजामा डरलाग्दो अवस्था छ र अहिलेसम्म करिब २० हजार मानिसको मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले प्यालेस्टिनीहरूलाई आफ्नो क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको छ।
यस्तो अवस्थामा इजरायलमा निर्माणदेखि खेतीसम्म सबै कामका लागि कामदारको ठूलो अभाव छ। इजरायली उद्योगीहरूको बारम्बार चेतावनीपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशबाट कामदार ल्याउन सहमति दिएका छन्। साथै उनले पहिलो पहलस्वरुप एसियाली राष्ट्र भारतसँग सहयोग मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेतान्याहूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कामदार आपूर्तिका विषयमा छलफल गरेका थिए। त्यसपछि इजरायलको टोली भारत आएर थप छलफल पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अब फेरि इजरायलबाट छनोटकर्ताहरूको अर्को समूह भारत आउने र त्यसपछि भारतीयलाई कामदारको रुपमा छनोट गर्ने प्रक्रिया अघि बढाउने छ। इजरायली बिल्डर्स एसोसिएसनका अनुसार सबैभन्दा बढी कामदारको माग निर्माण क्षेत्रमा छ। इजरायली बिल्डर्स एसोसिएसनका उपनिर्देशक शे पोजनरले डिसेम्बर २७ देखि दिल्ली र चेन्नईमा भर्ती प्रक्रिया सुरु गर्ने पुष्टि गरेका छन्।
अहिले तत्काल इजरायलले भारतबाट १० हजार कामदार लैजाने छ। तर त्यतिले मात्रै नपुग्ने भएकाले संख्या बढाउँदै ३० हजार पुर्याउने योजना छ। यसअघि वेस्ट बैंकबाट ८० हजार र गाजाबाट १७ हजार प्यालेस्टिनी काम गर्न इजरायल आउने गर्थे। तीमध्ये अधिकांशको श्रम स्वीकृति हमासको आक्रमणपछि खारेज गरिँदा त्यहाँ अहिले कामदारको चर्को अभाव भएको छ।