प्रधानमन्त्री कप महिला क्रिकेटः गण्डकीको पहिलो जित
पुस ६, काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ। मूलपानी क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा कर्णाली प्रदेशमाथि गण्डकीले ४४ रनको फराकिलो जित निकालेको हो। कर्णालीको भने लगातार दोस्रो हार हो।
गण्डकीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो। १४२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्रै बनाउन सकेपछि गण्डकी ४४ रनले विजयी भयो।
पहिला ब्याटिङ गर्दा गण्डकीका लागि अञ्जली विश्व्कर्मा र ज्योत्स्निका मरासिनीले अर्धशतकीय पारि खेल्दा ठूलो स्कोर गरेको थियो। अञ्जलीले ४८ बलमा ८ चौकको मद्दतले ५१ रन बनाउँदा ज्योत्स्निकाले ४० बलमा ५ चौका र १ छक्कासहित ५० रनको अर्धशतकीय पारि खेलिन्।
यसैगरी सुमन खतिवडाले २२ रन बनाउँद्या कप्तान कुसुम गोदार १ रनमा नटआउट रहिन्। गण्डकीका लागि सिमाना केसीले २ रन जोड्दा सिर्जना पौडेल र सृष्टि जैशीले खाता खोल्न सकेनन्। कर्णालीका लागि यमुना थारु र अञ्जु गुरुङले दुई दुई विकेट लिँदा रश्मि खड्काले १ विकेट हात पारिन्।
१४२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको कर्णालीको ओपनिङ जोडीले राम्रो प्रदर्शन गरे पनि मध्यक्रमका खेलाडी असफल रहे। यमुना थारु र तृष्णा विश्वकर्माले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरे। २६ बलमा १९ रन बनाएर विश्वकर्मा रनआउट भएपछि कर्णाली दबाबमा आयो। यसैगरी कप्तान किरण कुँवर पनि ८ रनमा रनआउट भइन्।
त्यसपछि लगातार विना थापा र अञ्जु गुरुङ खाता नै नखोली आउट भए। गौरी बोहोरले १६ बलमा २६ रनको पारि खेलेका थिइन् भने ओपनर यमुना थारुले ४८ बल फेस गर्दा २१ रन बनाइन्। रश्मि खड्का ७ रन जोडेर आउट भइन्।
गण्डकीका लागि रचना चौधरीले २ विकेट लिँदा सुमन खतिवडा र ज्योत्स्निकाले एक एक विकेट लिए।