पर्सा ११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा
पुस १३, काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्सा ११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा आज भएको खेलमा नेपाल आर्मीलाई ३१ रनले पराजित गर्दै पर्सा ११ ले फाइनलको यात्रा तय गरेको हो।
समूह चरणमा चौथो स्थानमा रहेको पर्साले शीर्ष स्थानको आर्मीसँग सेमिफाइनल खेलेको थियो। पर्सा ११ ले पहिला ब्याटिङ गर्दै २ बल बाँकी छँदै सवै विकेट गुमाएर ९९ रन बनाएको थियो। जवाफमा आर्मीको टिम १६।२ ओभरमा सवै विकेट गुमाएर ६८ रनमा समेटियो।
आर्मीलाई रोक्ने क्रममा कप्तान लामिछानेले ३ विकेट लिँदा अनिल साह, पवन शर्राफ र समसेद मन्सुरीले दुई दुई विकेट लिए। रन्जीत कुमारको १ नाउँमा १ विकेट रह्यो।
व्याटिङतर्फ आर्मीका कुशल मल्लले सर्वाधिक १९ रन बनाउँदा बसिर अहमदले १० रनको नटआउट पारि खेले। भीम सार्कीले ९ तथा रोहित पौडेल ८ रनमा पभेलियन फर्किएका थिए।
यस्तै कप्तान विनोद भण्डारीको ब्याटबाट पनि ९ रनमात्रै बन्यो। अन्य खेलाडीको प्रदर्शन झनै विर्सन लायक रह्यो। पहिला ब्याटिङ गरेको पर्सा ११ का लागि समसद मन्सुरीले सर्वाधिक १७ रन बनाउँदा अनिल साह र रुपेश सिंहले १५–१५ रन जोडे।
यसैगरी पवन शर्राफले ११ रन बनाउँदा हसिम अन्सारी र इमरान शेखले ९–९ रन जोडेका थिए। सुरज पटेल ७ रनमा आउट हुँदा कप्ता सन्दीप लामिछानेले ६ रन जोडे। आर्मीका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिँदा कुशल मल्लले ३ विकेट लिए। सहाव आलमले २ तथा विवेक यादवले १ विकेट लिए।