राष्ट्रिय सभा निर्वाचन : एमालेप्रति देउवा र प्रचण्ड लचक, नेपाल कठोर
पुस १९, काठमाडौं । आसन्न राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई सहभागी गराउने विषयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक देखिएका छन्।
बिहीबार बालुवाटरमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रिया टुंग्याउनका लागि बनेको टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न सकिने अध्यक्ष प्रचण्डको धारणा थियो।
तर, एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउन नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनिच्छुक देखिएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केही लचक भएका छन्।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले नेकपा एमालेले राष्ट्रिय सभामा ६ सिट मागेको ब्रिफिङ गर्दा एमालेलाई सहभागी गराउनुको कारण सोधेका थिए।
बिहानको बैठक मुलतः राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित भएको र थप छलफलका लागि साँझ फेरि भेटघाट गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनदेखि लिएर समसामयीक राजनीतिक विषयमा छलफल भएको छ । थप छलफल गर्न बाँकी छ त्यसका लागि साँझ बस्ने गरि उठेका छौं।’
प्रमुख सचेतक रमेश लेखकले एमालेलाई राष्ट्रिय सभामा सहभागि गराउने विषयमा छलफल गर्न विहीबार (आज) साँझ कांग्रेस, माओवादी र एमालेको बैठक बस्ने बताए।
एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउनेबारे संवाद कहाँ पुग्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने,‘यो लोकतन्त्रमा संवाद, सहमति, सहकार्य भन्ने कुरा त कहाँ टुंगिन्छ र ? एमालेसँग राजनीतिक विषयमै छलफल भइरहेको र गठबन्धनभित्र राष्ट्रिय सभाकै विषयमा छलफल भइरहेको हो।’