टी २० विश्वकपको तालिका प्रकाशित, नेपालले पहिलो खेल नेदरल्याण्डसँग खेल्ने
पुस २१, काठमाडौँ । टी–२० विश्वकप २०२४ को खेलतालिका औपचारिक रुपमा सार्वजनिक भएको छ। टी–२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ। पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।
प्रत्येक समूहमा ५–५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन्। सुपर–८ मा पनि टोलीलाई ४–४ को २ समूहमा विभाजन गरिनेछ। सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ।
प्रतियोगिताको पहिलो खेल जुन १ मा आयोजक अमेरिका र क्यानडाबीच हुनेछ। नेपाली टिम समूह डीमा रहेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड रहेका छन्।
नेपालले जुन ४ तारिखमा नेदरल्याण्डसँग खेल्दै विश्वकपको यात्रा तय गर्ने छ। यो खेल डालसमा हुने छ। यसैगरी ११ जुनमा श्रीलंकासँग लाउडरहिलमा खेल्न छ। १४ जुनमा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिनसेन्टमा खेल्ने छ।
समूह ए – भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा
समूह बी – इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान
समूह सी – न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी
समूह डी – दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र नेपाल
सन् २०२४ को टी–२० विश्वकपमा कुल ५५ खेल खेलिनेछन् जसमा समूह चरणका ४० खेल जुन १ देखि १८ सम्म हुनेछ। त्यसपछि जुन १९ देखि जुन २४ सम्म सुपर ८ मा दुई समूहका कुल १२ खेल हुनेछन्। सेमिफाइनल खेल २६ र २७ तारिखमा हुनेछ भने फाइनल खेल २९ गते हुनेछ।