गठबन्धन बैठक : राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने
पुस २१, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन्। नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने बताए । सिट बाँडफाँटको विषयमा शनिबार९आज०४ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए।
शनिबार विहान बालुवाटारमा बसेको गठबन्धनको बैठक पश्चात ४ बजे पुनः बैठक बस्ने र ५ बजे सरकारमा सहभागी एवम सरकारलाई सहयोग गरिरहेका दलहरुबीच पनि बैठक बसेर निर्वाचनका बारेमा टुङ्गो लगाउने लेखकले बताए।
उनले भने, ‘सरकारमा सहभागी चार दलका नेताहरुको बीचमा छलफल भएको छ, राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयमा र आज फेरि ४ बजे पुनः बैठक बस्ने कुरा भएको छ। ५ बजे सरकारमा सहभागी सबै दलहरु र सरकारलाई सहयोग गरि रहेका दलहरुको पनि बैठक गरेर राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा टुङ्गो लगाउने निर्णय भएको छ।’
यस्तै उनले सत्ता गठबन्धनले सदासयतापूर्वक सबैसँग मिलेर जाने भन्नेमा थियो तर एमालेसँग कुरा नमिलेपछि अब सत्ता गठबन्धन मिलेर चुनाव लड्ने बताए।
‘एउटा बृहत लोकतान्त्रिक धारणाका साथ जान सत्ता पक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्षबीच राष्ट्रिय सभाका निम्ति मिलेर अघि बढ्न सकिन्छ भनेर छलफल भइरहेको थियो तर त्यस्तो संभावना टरेकाले गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुनेछ,’लेखकले भने। एमालेले शुक्रबार नै राष्ट्रिय सभा निर्वाचनमा एक्लै लड्ने निर्णय गरिसकेको छ।