सीआईबीले गर्याे ‘तपस्वी’रामबहादुर बम्जनलाई सार्वजनिक
पुस २५, काठमाडौं । मंगलबार पक्राउ परेका ‘तपस्वी’रामबहादुर बम्जनको घरबाट ठूलो संख्यामा नेपाली तथा विदेशी रुपैयाँ बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) जनाएको छ।
बुधबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ नेपाली रकम र बिभिन्न १७ देशका मुद्रा बरामद गरेको हो। विदेशी मुद्रा नेपालीमा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
२०७६ सालमा सर्लाहीमा एक नाबालिकामाथि बलात्कारको आरोपमा बम्जनको खोजी भइरहेकोमा मंगलबार निजको निवास बुढानिल कण्ठबाट पक्राउ गरिएको आचार्यले जानकारी दिए।
आचार्यले भने,‘ बाराको निजगढ नगरपालिका–१२ र हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ टनगाउँबाट रामबहादुर बम्जन भनिने ३४ वर्षीय रामलाल बम्जनलाई पक्राउ गरिएको हो। निजबाट नेपाली रुपैयाँ जम्मा तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ र बिभिन्न देशको नेपालीमा रुपैयाँमा हेर्दा तीस लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको छ। उनको घरबाट मोबाइल १४ थान, पेनड्राइभ २० थान, आइप्याड ५ थान र निजको साथमा दुईवटा गाडी र चारवटा मोटरसाइकल भेटिएको छ।’
प्रहरी उपरिक्षक एवंम प्रवक्ता नवराज अधिकारीले बम्जनको घरबाट बरामद गरिएका सामग्री र कागजात साथै विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरुका सम्बन्धमा खोज तलास भइरहेको जानकारी दिए।
टनगाउँमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र त्यस क्रममा निज बस्दै आएको घर भित्र प्रवेशगरी पक्राउ गर्नेक्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको जग्गामा हाम फालेर भाग्ने क्रममा पक्राउ गरिएको अधिकारीले जानकारी दिए।
बम्जनको आश्रमबाट चार अनुयायी बेपत्ता भएको पनि उजुरी आएको उनले जानकारी दिए। बम्जनलाई सर्लाही पठाउने भएको उनले बताए। जिल्लाअदालत, सर्लाहीबाट उनी विरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भएको उनले जानकारी दिए।
बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन्। बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ। सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो।