रुसी सेनामा भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन् : परराष्ट्रमन्त्री साउद


पुस २७, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए।

शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले भने, ‘रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ। अरू धेरै जना जोखिममा पर्नुभएको छ। तर यो समस्या नेपाल सरकारको कारणले आएको होइन । जो त्यहाँ गएको छ, रुसी सेनामा काम गरिरहेको छ, उनीहरू विद्यार्थी भिसामा, भिजिट भिसामा त्यहाँ पुगेका हुन्। भिसा प्रयोजनलाई तोडेर उहाँहरू त्यहाँको सेनामा भर्ना हुनुभएको छ।’

परराष्ट्रमन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए। ‘आठ वटा शवहरू अहिले त्यहाँको शवगृहमा राखिएको कुरा मसँग आएको छ। हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छौँ,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यह त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ।’

उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए। ‘‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ। कहाँ जाँदैछु ? कस्तो देशमा जाँदैछु ? कुन कानूनीरुपमा ठीक छ, कुन ठीक छैन ? त्यो कुरामा सबैले ध्यान पुर्याउनु आवश्यक छ,’ उनले भने।

परराष्ट्रमन्त्री साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी गरेका छन्। ‘प्रधानमन्त्रीले छिमेकी दुई देशहरूको भ्रमण गर्नुभयो। वास्तवमा यी भ्रमणहरू विगतका भन्दा ऐतिहासिक छन्, निर्विवाद र गुणात्मक छन्,’ उनले भने, ‘त्यसकारण यो सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने र ट्रयाकमा ल्याउने काम गरेको छ।’

उनले छिमेकी देश भारतसँग हालैमात्र १० हजार मेगावाट विजुली उत्पादन र निकासीका विषयमा व्यापार सम्झौता गरेको बताए। मन्त्री साउदले इजरायलमा युद्धमा परेर हमासको नियन्त्रणमा परेका विपीन जोशीको उद्धारका लागि समेत सरकारले पहल गरिरहेको बताए।

‘विपीन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन्। उनीहरू विभिन्न देशका छन्। हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ। युद्धबन्दीकोरुपमा विपीन जोशीको जीवन सुरक्षित छ। हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?