हामी सँधै सत्ता गठबन्धनकै भर नपरौं : अध्यक्ष नेपाल


पुस २७, काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको रुपान्तरणका लागि अन्तिम विकल्प लेनिनवादी र माक्सवादी कम्युनिष्टहरु भएको बताएका छन्।

शुक्रबार नेकपा एसको भातृसंगठन नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठनको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सम्वद्ध संघ संगठनहरुले समाज रुपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताए।

‘समाज रुपान्तरणका लागि भूतुपूर्व सैनिक तथा प्रहरी संगठन जस्ता पार्टी संवद्ध संगठनहरुले महत्वपूर्ण भूमिका खेलेका छन्’, अध्यक्ष नेपालले भने, ‘समस्याहरु हुन्छन्, तर आत्तिनु हुँदैन। फेरि आत्तिनु हुँदैन भनेर बेवास्ता पनि गर्नु हुँदैन। हरेक समस्याको हल खोज्नुपर्छ । राम्रो काम गर्ने र जिम्मेवारी पुरा गर्ने पार्टी संगठन र संगठनमा आवद्ध मान्छेलाई हामी प्रेरित गर्नेछौं।’

फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले मौसम अनुसारको बाजा बजाउनुपर्ने टिप्पणी गरेका छन्। मुलुकमा रहेका तमाम समस्याहरुको समाधानका लागि समय र परिस्थिति अनुसार गतिशिल हुनुपर्ने उनको भनाई थियो।

उनले भने, ‘हामीसंग प्रष्ट विचार छ। यसकारण समाज रुपान्तरणका अभियानमा अघि बढेका छौं, पार्टीभित्रका समस्याहरु समाधानका लागि केन्द्रीय कमिटी बैठक, केन्द्रीय परिषद्मा छलफल गरेर समाधान खोज्नतर्फ उन्मुख छौं।’

अध्यक्ष नेपालले मुलुकको कानून संशोधनका लागि पनि छलफल चलाउन आवश्यक रहेको बताएका छन्। कानून परिवर्तनका लागि सबैजनाले आफ्नो राय र सुझाव आवश्यक रहेको उनको भनाई छ।


त्यस्तै, उनले सँधै सत्ता गठबन्धनकै भर पर्न नहुने तर्क गर्दै आउँदो निर्वाचनमा पार्टीले एक्लै जित हासिल गर्नेगरि काम गर्न पार्टी कार्र्यकर्तालाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?