अष्ट्रेलियामा बिभिन्न कार्यक्रम गरी मनाइयो पृथ्वी जयन्ती


पुस २८, काठमाडौँ । अष्ट्रेलियामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। अष्ट्रेलियाको सिड्नी, क्यानबेरा, एडिलेडलगायत सबै राज्यका प्रमुख सहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती मनाएका हुन्।

उनीहरुले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम गरेका थिए। पृथ्वी जयन्तीमा सिड्नीमा खुला सार्वजनिक माल्यार्पण कार्यक्रम गरिएको थियो। सिड्नीको कार्यक्रममा सहभागीहरूले नेपाली धर्म, संस्कृति र ऐतिहासिक पहिचानका मानकको माध्यमबाट अष्ट्रेलियाको नेपाली समुदायलाई एकताबद्ध गर्न सकिने बताए।

उनीहरूले अष्ट्रेलियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई नेपाली इतिहास र पहिचान चिनाउन हिचकिचाउन नहुने धारणा राखेका थिए। सिड्नीको कार्यक्रममा अष्ट्रेलियामा जन्मेहुर्केका बालबालिका समेत सहभागिता रहेको थियो।

पृथ्वी जयन्तीको अवसरमा अष्ट्रेलियाको राजधानी सहर क्यानबेरामा क्रिकेट प्रतियोगिताको आयोजना गरेका थिए। सनातन समाज अष्ट्रेलियाले स्थानीय क्रिकेट क्लबहरूबीच प्रतियोगिताको आयोजना गरेर पृथ्वी जयन्ती मनाएको हो। टी–२० क्रिकेट प्रतियोगिताका रूपमा आयोजना भएको प्रतिस्पर्धामा ‘क्यानबेरा नेपलिज क्रिकेट क्लब’ विजेता भएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठन प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अष्ट्रेलिया भरका राप्रपाका सुभेक्षुक एवम् प्रवासी नेपाली एकता समाजका सदस्यहरूले पृथ्वीनारायण शाहको योगदान र त्यसबाट हरेक नेपालीले सिक्नुपर्ने पाठबारे चर्चा गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?