रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीमा ट्रम्प अगाडि


माघ २, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि प्रतिष्पर्धामा उत्रिने भएका छन्। उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको पहिलो दौडमा विजयी भएपछि सम्भावना बलियो बनेको हो।

रिपब्लिकन पार्टीको पहिलो ककस सोमबार आयोवा राज्यमा आयोजना गरिएको थियो ।ककसको नतिजामा ट्रम्प विजयी भएका हुन्। यो जितले जो बाइडेनले फेरि एकपटक डोनाल्ड ट्रम्पको चुनौती सामना गर्नुपर्ने अनुमानलाई थप बल पुगेको छ।

आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका हुन्। दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेली वा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस दोस्रो स्थानमा रहने अपेक्षा गरिएको छ। आयोवापछि, न्यु ह्याम्पशायर, नेभाडा र साउथ क्यारोलिनामा पनि ककसहरू आयोजना हुनेछन्।

अमेरिकामा दुई प्रमुख दलहरू डेमोक्रेट र रिपब्लिकन हुन्। राष्ट्रपतिको निर्वाचनअघि देशका प्रत्येक प्रदेशमा पार्टी उम्मेदवार छनोट गर्न दुवै दलले अन्तरदलीय मतदान गर्छन्, जसलाई ककस भनिन्छ । सबै प्रदेशमा मतदान भएपछि दुवै दलको राष्ट्रिय अधिवेशनमा मतदानमा विजयी उम्मेदवारलाई पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गरिन्छ।

रिपब्लिकन पार्टीको पहिलो ककस आयोवा राज्यमा भएको थियो। यस ककसमा, रिपब्लिकन पार्टीका १६ सय भन्दा बढी समर्थकहरुले गोप्य मतदान गरेका थिए। अब अन्य राज्यहरूमा विभिन्न मितिहरूमा यस्तै ककसहरू आयोजना गरिनेछ, त्यसपछि जुलाईमा रिपब्लिकन पार्टीको अधिवेशनमा राष्ट्रपति पदका उम्मेदवारको नाम आधिकारिक रूपमा घोषणा गरिनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?