कांग्रेस सधैँ पहिचानको पक्षमा : शेखर कोइराला


माघ ३, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताएका छन्। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गरे।

‘कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,’ उनले भने, ‘पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ।’

प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताए । देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए । उनले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी गरे।

‘सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,’ कोइरालाले भने, ‘‘सुशासन बिना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ।’

भ्रष्टाचार र व्यथितिकै कारण जनता निराश बन्दै गएको नेता कोइरालाले बताए। ‘पछिल्लो समय युवाहरुमा यो देशमा केही हुँदैन, यहाँ बस्नु बेकार छ भन्ने सोच देखिएको छ,’ कोइरालाले थपे, ‘उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ।’

नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरे। राजनीतिमा मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढेको उनको भनाइ थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?